Wednesday, June 10News That Matters

२ महिनामा १८ हजार पर्यटक भित्रिए

पूर्णपुष्टि, फागुन १८ 

नेपालमा सन् २०२१ पछि पर्यटक आगमनमा सुधार देखिएको छ । जनवरी र फेब्रुअरी महिनामा कुल १८ हजार २० जना पर्यटक नेपाल आएको अध्यागमन विभागले जनाएको छ ।

जनवरीमा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल आएका छन् भने फेब्रुअरमा ९ हजार १ सय ४६ जना पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ ।

यसबीचमा भारतबाट सबैभन्दा बढी संख्यामा पर्यटक आएका छन् । नेपाल र भारतबीच खुलेको सिधा हवाई सम्पर्क खुला भएसँगै भारतबाट पर्यटक आगमन वृद्धि भएको हो ।

नेपालले हवाईमार्गबाट आउने सबै भारतीयलाई पर्यटक मान्छ । तर, स्थलमार्गबाट आउने भारतीय भने पर्यटकमा गणना हुँदैनन् । दुई महिनामा भारतबाट मात्र ८ हजार ७ सय ९१ जना पर्यटक नेपाल आएका छन् ।

यो संख्या सन् २०२० को यसै अवधिको तुलनामा भने निकै कम हो । सन् २०२० को फेब्रुअरी महिनामा मात्र नेपालले भारतबाट १४ हजार ८ सय ४० पर्यटकलाई स्वागत गरेको थियो ।

दुई महिनामा चीनबाट २ हजार ५ सय ८५ जना पर्यटक नेपाल आएका छन् । चीनबाट जनवरीको तुलनामा फेब्रुअरीमा आगमन घटेको तथ्यांकमा देखिएको छ । फेब्रुअरीमा चीनबाट मात्र ७ सय ८ जना पर्यटक नेपाल आएका छन् ।

तथ्यांकअनुसार पछिल्ला दिनमा अमेरिकी पर्यटकको आगमनमा भने उल्लेख्य वृद्धि भएको छ । जनवरीमा ८ सय ७४ जना अमेरिकी नेपाल आएकोमा फेब्रुअरीमा १ हजार १ सय २० अमेरिकी पर्यटक नेपाल आएका छन् । दुई महिनाको अवधिमा अमेरिकाबाट १ हजार ९ सय ९४ जना पर्यटक नेपालको भ्रमणमा आएका छन् ।

युरोपका सबै मुलुकबाट फेब्रुअरीमा १ हजार १ सय ४२ जना पर्यटक नेपाल आएका छन् । यूरोपको बेलायतबाट यो महिनामा ५ सय २४ जना नेपाल आएका छन् । जनवरीमा बेलायतबाट १ सय ३६ जना पर्यटक नेपाल आएका थिए ।