Friday, May 22News That Matters

५ औं चरणको उद्धार उडान सुरु

पूर्णपुष्टि, भदौ १

आजदेखि पाँचौ चरणको उद्धार उडान सुरु भएको छ । कोरोना भाइरसको सङक्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि पाँचौं चरणको उद्धार उडान सुरु भएको हो ।

अबको १५ दिन अर्थात् अगष्ट ३१ तारिखसम्म ४० भन्दा बढी उडान हुने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले शुक्रबार पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति दिएको छ ।

यी उडानबाट झण्डै ७ हजार नेपाली स्वदेश फर्किन पाउनेछन् । नेपाल एअरलाइन्सले १७, हिमालय एअरलाइन्सले १५ र अन्य विदेशी एअरलाइन्सले ११ वटा उडानको अनुमति पाएका छन् ।

भदौ १५ गतेदेखि भने नियमित उडान गर्ने तयारी छ । कोरोना भाइरसको महामारी रोक्न भन्दै गत चैत ९ गतेदेखि सरकारले हवाइ उडान बन्द गरेको हो । उद्धार र चार्टड उडान सञ्चालन भए पनि नियमित उडान भने भएका छैनन् ।

गत जेठ ३२ गतेदेखि सरकारले विदेशमा समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडानहरु सञ्चालन गरेसँगै ५१ हजारभन्दा धेरै नेपाली स्वदेश आईसकेका छन्् । साउन ३० गतेसम्म विभिन्न ३० देशबाट हवाईमार्ग हुँदै ५१ हजार ४ सय ४१ जना स्वदेश फर्किएका छन् ।

खाडीका देश ओमानबाट ८ सय ११ जना, कतारबाट ६ हजार १ सय ९१ जना, कुवेतबाट ६ हजार ३ सय २९ जना, यूएईबाट १४ हजार ३१४ जना, साउदीबाट ७ हजार ८ सय १७ जना, बहराइनबाट ९ सय ८० जना र मलेसियाबाट ७ हजार ६ सय ४२ जना स्वदेश आइपुगेका छन् ।

अन्य यूरोपियन देशसँगै अमेरिकाबाटसमेत नेपालीहरुलाई चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ । अफगानिस्तानबाट ५० जना, अस्टे«लियाबाट ९ सय ४३ जना, म्यानमारबाट २६ जना, जापानबाट १२ सय ८२ जना, थाइल्याण्डबाट ३ सय २६ जना, दक्षिण कोरियाबाट ९ सय ६७ जना, बंगलादेशबाट ८ सय ४१ जना, माल्दिभ्सबाट ७ सय ९ जना, श्रीलंकाबाट ५ जना, सिंगापुरबाट २ सय ९७ जना स्वदेश आइपुगेका सीसीएमसले जनाएको छ ।

त्यस्तै, हङ्कङबाट ८९ जना, पाकिस्तानबाट ७२ जना, अमेरिकाबाट ४ सय २३ जना, बेलायतबाट २ सय २९ जना, इजरायलबाट १ सय २७ जना, चिनबाट २ सय ८ जना, टर्कीबाट १ सय १० जना, फिलिपिन्सबाट २ सय १ जना, स्विजरल्याण्डबाट १० जना, दक्षिण सुडानबाट २ सय ५० जना, सीएआरबाट ६८ जना र इराकबाट ३९ जना स्वदेश आइपुगेका छन् ।