
पूर्णपुष्टि, जेष्ठ २ । सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६९० किलो लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमफेदी नगरपालिका–१४ मकवानपुरका २५ बर्षीय चन्द्र बहादुर पाख्रिन, लेटाङ नगरपालिका–६ मोरङका बल बहादुर लिम्बु, देवानगञ्ज गाउँपालिका–४ का ३० बर्षीय अरबिन्द पाल र शहिदभुमी गाँउपालिका(३ धनकुटाका १८ बर्षीय दिवस राई रहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको भन्ने बिशेष सूचानाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाँउपालिका–५ मेहेता टोलको भित्री सडक खण्डबाट को. १ ख ७१२३ नम्बरको मिनि ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट ४ सय ४० किलोग्राम गाँजा बरामद भएको थियो ।
ट्रकबाट गाँजा बरामद भएसंगै चालक चन्द्र बहादुर पाख्रिन, सोही ट्रकमा सवार रहेका बल बहादुर लिम्बु र अरबिन्द पाललाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले भारतिय रुपैयाँ १ लाख ५० हजार, नेपाली रुपैयाँ ५२ हजार र ५ थान मोवाईल सेट समेत बरामद गरेको छ ।
यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१७ ICP रोडमा काँचो केरा बोकेको प्रदेश १–०२–०२ च. ६३३१ नम्बरको पिकप भेनबाट केरा सहित गाँजा अनलोड गर्दै गरेको भन्ने बिशेष सूचनाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त पिकप भेनबाट २५० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको थियो । गाँजा बरामद भएसंगै चालक दिवस राईलाई समेत नियन्त्रणमा लिएको हो। लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्वन्धमा आवश्यक थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
