
पूर्णपुष्टि, फागुन ९ । उदयपुरको त्रियुगा नगरपालिकामा वैदेशिक रोजगारीको अवस्था चिन्ताजनक रहेको एक अध्ययनले देखाएको छ । बिहिबार नगरपालिकाको सभाहलमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांक अनुसार नगरपालिकाको कुल २५,६२३ घरधुरीमध्ये करिब एक चौथाई अर्थात् ६,२८५ घरधुरीका युवाहरू वैदेशिक रोजगारमा गएका छन् ।
त्रियुगा नगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन (सामी) को तथ्यांक अनुसार वैदेशिक रोजगारमा गएका युवाहरूमध्ये १,४८६ जना स्वदेश फर्किसकेका छन् भने ४,७९९ जना अझै विदेशमै कार्यरत छन् । विदेश गएका युवाहरूको मुख्य गन्तव्य मलेसिया र खाडी मुलुकहरू रहेका छन् । विशेषगरी साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारमा उल्लेख्य संख्यामा त्रियुगाका युवाहरू रोजगारीमा छन् ।
चिन्ताजनक पक्ष के छ भने विदेशमा कार्यरत ४,७९९ युवामध्ये मात्र ८९९ जनाले सीप सिकेर गएका छन् । सीपको अभावमा अधिकांश कामदारहरू न्यून तलब र जोखिमपूर्ण काममा संलग्न हुनुपरेको छ ।
चालु आर्थिक वर्ष २०८०÷८१ को पुष मसान्तसम्म उदयपुर जिल्लाबाट ६,११४ जना वैदेशिक रोजगारमा गएका छन् । यसै अवधिमा त्रियुगा नगरपालिकाद्धारा संचालित सुरक्षित आप्रवासन (सामी) मा ६८३ पुरुष र ४०८ महिला गरी १,०९१ जनाले वैदेशिक रोजगार सम्बन्धी सूचना लिएका छन् ।
समस्या समाधानका लागि नगरपालिकाले सीप तालिम र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाहरू सञ्चालन भइरहेका छन् । स्वदेश फर्किएका ९२ जना युवाले आफ्नै व्यवसाय सुरु गरेका छन् ।
वैदेशिक रोजगारीका कारण सिर्जित सामाजिक समस्याहरूमा बालबच्चा तथा वृद्ध सदस्यको हेरचाह, सामाजिक लाञ्छना, मानसिक तनाव, पारिवारिक कलह र विखण्डन प्रमुख छन् । विशेषगरी महिला कामदारहरू विभिन्न हिंसा र शोषणको शिकार हुने गरेका छन् । यस्ता नकारात्मक सोच र व्यवहार परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरबाट २०८१ साउन देखी पुषसम्मको छ महिनाको अवधिमा २,६९५ पुरुष र १,३६१ महिला गरी ४,०५६ जनाले राहदानी बनाएका छन् । यसमध्ये ८६ प्रतिशतले मात्र आप्रवासी स्रोत केन्द्रबाट सेवा लिएको देखिन्छ । बाँकी १४ प्रतिशत सेवाग्राहीहरू आवश्यक सूचना तथा परामर्शबाट वञ्चित भएका छन् ।