Saturday, April 26News That Matters

६ महिनामा ताप्ली गाउँपालिकाको २१ प्रतिशत मात्र पुँजीगत खर्च

पूर्णपुष्टि, माघ २९ । उदयपुरको ताप्ली गाउँपालिका विकास निर्माणको काम र पुँजीगत बजेट खर्चमा पछि परेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म गाउँपालिकाले कुल बजेटको साढे २४ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्षको कुल बजेट ४० करोड ७९ लाख ३ हजार रहेकोमा पुँजीगततर्फ ३० करोड २८ लाख र चालुतर्फ १० करोड ५० लाख रुपैँया विनियोजन गरिएको छ । तर ६ महिनाको अवधिमा पुँजीगततर्फ २१.८९ प्रतिशत र चालुतर्फ २८.१० प्रतिशत मात्र खर्च भएको छ । गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार भौगोलिक विकटता र पूर्वाधारको कमजोर अवस्थाले गर्दा विकास निर्माणका कामहरु ढिला हुन गएका हुन् । “निर्माण सामग्री ढुवानीमा कठिनाई हुने र सडकको दुरावस्थाले समय बढी लाग्ने गरेको छ,” उनले भने ।

हाल गाउँपालिकामा लिफ्टिङ खानेपानी योजना, वडा भवन, स्वास्थ्यचौकी, सामुदायिक भवन र विद्युत विस्तारका काम भइरहेका छन् । लेखापाल टीकाराम रहपालका अनुसार रनिङ बिल र भुक्तानी प्रक्रियामा रहेका योजनाहरु समेत जोड्दा खर्च प्रतिशत करिब दोब्बर हुने देखिन्छ । यस्तै समस्या उदयपुरका अन्य स्थानीय तहहरुमा पनि देखिएको छ । अधिकांश स्थानीय तहको पुँजीगत खर्च ३० प्रतिशतभन्दा कम रहेको छ भने केहीको त १० प्रतिशत पनि पुगेको छैन ।