
पूर्णपुष्टि, फागुन १०
चालु आर्थिक वर्षको सात महिनामा करिब ४९ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ ।
साउनदेखि माघसम्म ४८ अर्ब ८७ करोड रुपैयाँको खाद्यान्न विभिन्न देशबाट नेपाल आयात भएको भन्सार विभागले जनाएको छ ।
हरिया तरकारीदेखि फलफुल र दाल, चामल पनि नेपालले विदेशबाटै किनेको छ । सात महिनामा करिब २० अर्ब रुपैयाँ बराबरको धान चामल मात्रै आयात भएको जनाएको छ ।
सात महिनामा व्यापार घाटा पनि सात खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । नेपालले विदेशबाट आठ खर्ब तीन अर्ब ६० करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । तर यसै अवधिमा नेपालले जम्मा ६९ अर्ब ९१ करोड रुपैयाँको वस्तु तथा सेवा मात्रै निर्यात गर्न सकेको जनाएको छ । आयात ०.१ प्रतिशतले बढेको छ भने निर्यात ७.६१ प्रतिशतले बढेको छ ।
भारतबाट सात महिनामा पाँच खर्ब ३१ अर्ब ९५ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ भने जम्मा ४९ अर्ब ९३ करोड रुपैयाँको निर्यात भएको छ । भारतसँग चार खर्ब ८२ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ ।
