
भदौ १२ गते ।
तातोपानी नाका बन्द भएपछि रक्तचन्दन तस्करी रोकिएको भनिएपनि ८३ किलो ग्राम रक्तचन्दन बरामद भएको छ । भुकम्पले उत्तरी नाका तातोपानी बन्द भएपछि पहिलो पटक केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र महानगरीय प्रहरी वृत्त, बौद्धको संयुक्त टोलीले ८३ किलो रक्तचन्दन बरामद गरेको हो ।
बौद्ध–६, रामहिटीबाट रक्तचन्दन बरामद गरेको प्रहरीले जनाएको छ । च्याङ्बा लामाको घरमा स्टोर गरेर राखेको अवस्थामा बुधबार बरामद गरेको प्रहरीले जनाएको छ ।
विशेष सुराकीका आधारमा पुगेको टोलीले च्याङ्बासहित योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरेको छ । विक्री गर्न राखेको अवस्थामा रक्तचन्दन बरामद गरेपनि त्यसको मालिक को भन्ने कुरामा एकिन भएको छैन ।
विस्तृत अनुसन्धानका लागि पक्राउ परेका दुवै जनासहित रक्तचन्दनलाई जिल्ला वन कार्यालय बुझाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।
