
भदौ १२ गते ।
कर्णाली बाहेकका ६ वटा प्रदेशमा १५ सय ३७ जनामा डेँगुका संक्रमित भेटिएका छन् । करिब ३ महिना अगाडी पूर्वको धरानमा देखापरेका डेंगु नियन्त्रण गर्न नसक्दा देशैभर पैmलिएको हो ।
डेंगु संक्रमण देखिएका ६ वटा प्रदेश मध्ये सवै भन्दा बढी प्रदेश नं. १ मा संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुले जनाएको छ । यस प्रदेशका १४ वटा जिल्लामध्ये ९ जिल्लामा डेँगु संक्रमित ५ सय ६३ जना भेटिएको तथ्याङ्कले देखाएको छ ।
यस वर्ष पहिलो पटक डेँगु फेला परेको सुनसरीको धरान हो । यहाँ ३ सय ३१ जना डेँगु संक्रमित भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै झापामा पनि १ सय २४ जना डेँगु संक्रमित फेला परेको तथ्याङ्कले देखाएको छ ।
प्रदेश २ का ८ जिल्ला मध्ये ७ वटा जिल्लाका १४ जना डेंगुका बिरामी भेटिएको तथ्याङ्कले देखाएको छ । त्यस्तै प्रदेश ३ का विभिन्न जिल्लामा ५ सय ५९ जना डेँगु संक्रमित फेला परेका छन् । मकवानपुरमा २ सय ९६ र चितवनका २ सय २४ जना डेंगुबाट संक्रमित भएको तथ्याङ्कले देखाएको छ ।
गण्डकी प्रदेशमा ३ सय ५९ जना डेँगु संक्रामित फेला परेको तथ्याङ्कले देखाएको छ । त्यस्तै प्रदेश ५ र सुदूरपश्चिममा भने डेंगुको संक्रमण अन्यको तुलनामा कम देखिएको छ । प्रदेश ५ मा ५६ र सुदूरपश्चिममा ६ जना डेंगुका बिरामी भेटिएको तथ्याङ्कले देखाएको छ ।
अहिलेसम्म डेँगुको संक्रमणबाट करिब ३ जनाको ज्यान गइसकेको छ । डेंगु संक्रमित दरमा आएको वृद्धि र मृत्युका घटनापछि सरोकारवालाहरूले थप नोक्सानी हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । करिब ३ महिना अगाडी देखापरेको डेँगु अझै नियन्त्रणमा आउन नसकेकाले नियन्त्रण प्रयास फितलो भएको भन्दै आलोचना भइरहेको छ ।
