Saturday, June 20News That Matters

अधेरीमा स्कुल बस दुर्घटना : एक जनाको मृत्यु, ३० जना घाइते

पूर्णपुष्टि/उदयपुर, असार ६ – ।

उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि विराटनगर रिफर गरिएको छ ।

दुर्घटनामा महाेत्तरीकाे बर्दिबास नगरपालिका निवासी अन्दाजी ५५ वर्षीय विमलेश दत्तको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा  चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार बिहान करिब ८ः५० बजे महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २ ख ६४३८ नम्बरको बस अचानक अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको थियो।  प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीको सहयोगमा घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाइएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी महोत्तरीको गौशाला नगरपालिका–२ निवासी ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देश कुमार चौधरीलाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ। उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।

दुर्घटनामा अन्य २८ जना घाइते भएका छन् । उनीहरूमध्ये अधिकांश महोत्तरीको गौशाला नगरपालिका, औरही नगरपालिका तथा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका बासिन्दा रहेका छन्। घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार अधिकांशको अवस्था सामान्यदेखि मध्यम रहेको छ।

घाइतेहरूमा जितन प्रसाद यादव, पिंकी यादव, नितु यादव, चाँदनी पासवान, भिकारी यादव, अमृता यादव, अञ्जली साह, रुपा महतो, अनिल कुमार पासवान, दिनेश साह, आलोक साह, अनिसा महतो, नादनी कुमारी यादव, अजय कुमार मण्डल, दिपेन्द्र महतो, कुश महतो, रामशंकर यादव, निर्मला यादव, विकी यादव, सिकेन्द्र बैठा, निशा यादव, पुष्पा महतो, ममता महतो, सोनाक्षी यादव, नन्दकिशोर पण्डित, शिवलाल महतो, रोहन मण्डल र लभ महतो रहेका छन्।

दुर्घटनाका बेला बसमा सवार दुई यात्रु रामतोला देवी मण्डल र प्रिति यादव भने सकुशल रहेको प्रहरीले जनाएको छ। बस चालक महोत्तरीको गौशाला नगरपालिका–१० निवासी अन्दाजी २८ वर्षीय जीवन आले सकुशल रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान अघि बढाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिका कारण वा प्राविधिक समस्याका कारण बस अनियन्त्रित भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

मदन भण्डारी लोकमार्गको उक्त खण्डमा घुम्ती तथा ओरालो बढी भएकाले सवारी दुर्घटनाको जोखिम उच्च रहने स्थानीयवासी बताउँछन् ।  पछिल्लो समय यस क्षेत्रमा सवारी दुर्घटनाका घटना दोहोरिन थालेपछि सडक सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। केही समय यता सुरक्षित सडक अभियानताहरुले नयाँ चालक र यात्रुहरुलाइ सचेत गराउदै सुरक्षित सडक अभियान पनि चलाइरहेका छन् । अभियानका कारण सतर्कता अपनाउनेहरु बढ्दै गएता पनि नयाँ चालक र सडककाे बनावट नै जाेखिमयुक्त रहेकाले साे ठाउँ दुर्घटनाकाे अत्ति जाेखिम स्थान भनेर पहिचान भएकाे छ । साे ठाउँकाे सडक सुधारका लागि स्थानीय प्रशासन र स्थानीय तहहरुले सरकारस‌ग पहलसमेत गरिरहेका छन् । अधिका‌श नयाँ चालक दुर्घटनामा परेकाे पाइएकाे छ र तिब्रगति दुर्घटनाकाे कारणमा बढि देखिएकाे छ । दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा स्वास्थ्यकर्मीको सक्रियतामा उद्धार कार्य सम्पन्न भएको थियो। घटनाले महोत्तरी र उदयपुर दुवै जिल्लामा शोकको वातावरण सिर्जना गरेको छ।