
पूर्णपुष्टि,वैशाख ७ । म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन् ।
सोमबारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०ः३० बजे सात हजार ५०० मिटरको उचाइबाट जीवितै उद्धार गरेको सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाइँले जानकारी दिए । ‘हेलिकप्टरले अन्नपूर्ण हिमालबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको छ’, उनले भने। परिवारका सदस्यका अनुसार मालुको अवस्था गम्भीर छ । मालु सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका थिए । आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा मालु बेपत्ता भएका थिए ।
अन्नपूर्ण हिमालबाट यसअघि मङ्गलबार भारतीय आरोही २७ वर्षीय बलजीत कौरको पनि जीवितकै उद्धार गरिएको थियो । काठमाडौँ लगिएकी कौरको अवस्था सामान्य रहेको ट्रेकिङ कम्पनी पायोनियर एडभेन्चरले जनाएको छ । अन्नपूर्ण आरोहण गरेर फर्कंने क्रममा कटल्याडका आरोही नोयल हान्नाको मंगलबार मृत्यु भएको थियो । हान्न सेभेन समिट ट्रेकबाट अन्नपूर्ण हिमाल आरोहणमा गएका थिए ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङको भूगोलमा अवस्थित छ । उक्त अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो । यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समुहका ४५ जनाले अनुमति लिएका थिए । बुधबारसम्म ३५ जनाले आरोहण गरिसकेका अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।
