Friday, May 22News That Matters

अबको केहि दिनमा नेपालबाट मनसुन बाहिरिने

पूर्णपुष्टि, असोज १४

अबको एक/दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले मनसुन कमजोर अवस्थामा पुगेकाले कम पानी पर्न थालेको छ । यो वर्ष पनि दुई दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन अझै बाहिरिएको छैन । तर मनसुन कमजोर अवस्थामा पुगेकाले अबको एक/दुई दिनमा नेपालबाट मनसुन बाहिरिने संभावना रहेको महाशाखाले जनाएको छ ।

नेपालमा पूर्वबाट प्रवेश गरेर मध्य हुँदै पश्चिमसम्म फैलिएर साढे तीन महिना सक्रिय हुने मनसुन पश्चिमबाट मध्य हुँदै पूर्वबाट नै बाहिरिने महाशाखाले जनाएको छ । तर सामान्यतया जुन १० तारिखमा नेपाल भित्रिएको मनसुन सेप्टेम्बर २३ मा नेपालबाट बाहिरिनु पर्ने भए पनि केही वर्ष यता ढिला भित्रिएर ढिला नै बाहिरिन थालेको छ ।
मनसुन सकिएपछि बिस्तारै पश्चिमी वायु सक्रिय हुन्छ । पश्चिमी वायुले चिसो ल्याउने भएकाले मनसुन सकिएपछि बिस्तारै चिसो बढ्न थाल्ने जनाईएको छ ।

अहिले बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशको मौसम सामान्य बदली भई थोरै ठाउँमा हल्का पानी पर्ने र अरु ठाउँको मौसम घाम लाग्दै बादल लाग्ने जनाईएको छ ।