Friday, May 22News That Matters

अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयको विरुद्धमा कम्पनी

पूर्णपुष्टि, भदौ ७

अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयको विरोधमा कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ ।

टिकटकको मुख्य कम्पनी बाइटडान्ससँगको कारोबारमा रोक लगाउने र टिकटकलाई प्रतिबन्ध लगाउने अमेरिकी सरकारको कार्यकारी आदेशविरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारी भैरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

टिकटकले कुन अदालतमा मुद्दा हाल्न लागेको हो भन्ने प्रष्ट भएको छैन । टिकटकले यसै हप्ता नै अदालतमा अपिल दर्ता गर्ने जनाईएको छ ।

गत अगष्ट ११ मा अमेरिकी राष्ट्रपति ट्रम्पले कार्यकारी आदेश जारी गर्दै चिनियाँ कम्पनी बाइट डान्सलाई उसको टिकटक एपको अमेरिकामा रहेको व्यवसाय अमेरिकी कम्पनीलाई बिक्री गर्न ९० दिनको समयसीमा दिएका थिए ।

यो आदेशसँगै बाइट डान्सले अमेरिकामा टिकटक बिक्रीका लागि माइक्रोसफ्ट तथा ओरेकल लगायतका कम्पनीहरुसँग छलफल अगाडि बढाइरहेको छ । टिकटक युवा पुस्तामा लोकप्रिय छ । अमेरिकामा मात्रै टिकटकका आठ करोड प्रयोगकर्ता रहेका छन् ।

टिकटकले अमेरिकी प्रयोगकर्ताका डाटालाई चीन पुर्याउने गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ । तर कम्पनीले यसलाई अस्वीकार गर्दै आएको छ ।