
पूर्णपुष्टि, कात्तिक २३
संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनुभएको छ । योसँगै डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
जो बाइडेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै राष्ट्रपतीय चुनावमा जित हात परेको हो । योसँगै भारतीय मूलकी कमला हसन अमेरिकाको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ ।
ह्वाइट हाउससम्म पुग्नको लागि आवश्यक २ सय ७० इलेक्टोरल भोट पार गर्दै बाइडेन विजयी बन्नुभएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा जित हात पारेसँगै जो बाइडेनले २ सय ७३ इलेक्टोरल भोट प्राप्त गर्नुभएको जनाईएको छ ।
बाइडेनका प्रतिद्वन्द्वी ट्रम्पको भागमा भने २ सय १४ इलेक्टोरल भोट परेका छन् । राष्ट्रपति चयनका लागि अमेरिकामा नोभेम्बर ३ मा चुनाव भएको थियो ।
७७ वर्षीय बाइडेनले अमेरिकी राष्ट्रपति पदको लागि यो भन्दा पहिले पनि सन् १९८८ र २००८ गरी दुई पटक चुनाव लडिसक्नुभएको छ । साथै बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको दुईटै राष्ट्रपति कालमा उपराष्ट्रपति रहिसक्नुभएको छ ।
