Tuesday, June 9News That Matters

राष्ट्रिय क्रिकेट टिमका खेलाडीको वर्गीकरण परिमार्जन

पूर्णपुष्टि, कात्तिक २३ 

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ । यसअघि गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले वर्गीकरण परिमार्जन गरेको हो ।
नयाँ वर्गीकरण अनुसार पुरुषतर्फ २० र महिलातर्फ २२ खेलाडी सेन्ट्रल कन्ट्रयाक्टमा परेका छन् । खेलाडी वर्गीकरण छनोट समितिले तयार गरेको नयाँ वर्गीकरणलाई हिजो बसेको क्यानको भर्चुअल बैठकले पारित गरेको हो ।

बलर सोमपाल कामी ’ए’ श्रेणीमा परेका छन् । यसअघि उनी ’बी’ श्रेणीमा परेका थिए । त्यस्तै सी मा रहेका अविनास बोहरालाई ’बी’ मा राखिएको छ । यसअघि सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका ललित नारायण राजवंशीलाई ’बी’ र सन्दीप जोहरालाई ’सी’ मा राखिएको छ ।
महिलातर्फ सरस्वती चौधरीलाई ’बी’ तथा ममता चौधरी र सुमन खतिवडालाई ’सी’ श्रेणीमा राखिएको छ । यसअघि असोज ६ गते चितवनमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण तयार गरेको थियो ।
पुरुषतर्फ ’ए’ श्रेणीको खेलाडीले ५० हजार, ’बी’ श्रेणीको खेलाडीले ४० हजार र ’सी’ श्रेणीको खेलाडीले मासिक ३० हजारको दरले तलब पाउने छन् । महिलातर्फ ’ए’ श्रेणीका खेलाडीले १५ हजार, बीमा पर्नेले १२ हजार र ’सी’ श्रेणीका खेलाडीले १० हजार रुपैयाँ मासिक तलब पाउने छन् ।

यस पटकको कन्ट्रयाक्ट सम्झौता ६ महिनाको हुने क्यानले जनाएको छ ।