
उदयपुर, कात्तिक २१ गते ।
उदयपुरमा अवैध रुपमा लगाईएका र आफै उम्रिएका लागु औषध गाँजा फडानीमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । पश्चिमी विकट पहाडी पालिका ताप्लि गाउँपालिकाको विभिन्न वडामा अवैध लगाईएका र आफै उम्रिएका गाँजा फडानीमा विहिबारदेखि सुरक्षाकर्मी परिचालन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी नायव निरिक्षक गोपाल राईको कमाण्डमा ११, सशस्त्र प्रहरी बल नेपाल न। ५ गण उदयपुरबाट सशस्त्र प्रहरी नायव निरिक्षक गुण्ड तामाङको कमाण्डमा १५, ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरिक्षक रामनारायण माझिको कमाण्डमा २३ जना र सशस्त्र प्रहरी बल बेस क्याम्प कटारीबाट सशस्त्र प्रहरी नायव निरिक्षक डम्बर दनुवारको कमाण्डमा ७ जना प्रहरी गाँजा फडानीमा परिचालन भएको जनाईएको छ ।
ताप्लिको वडा नम्बर क्रमश स् १,२,३,४ र ५ नम्बर वडाको विभिन्न गाउँ बस्तिमा अवैध रुपमा लगाएका र आफै उम्रिएका गाँजा फडानी गरी नष्ट गर्न प्रहरी परिचालन गरिएको हो । वर्षेनी प्रहरीले गाँजा फडानी गरी नष्ट गर्दै आएको छ ।
दशैँ लगतै प्रहरीले केहि भेगका गाउँ बस्तिमा गाँजा फडानी गरेको थियो । विगतका वर्षहरुमा अवैध रुपमा गाँजाको खेती गर्ने भएपनि पछिल्लो समय प्रहरीको सक्रियता र जनचेतनाले गर्दा उलेख्य रुपमा नियन्त्र भएको प्रहरीले जनाएको छ ।
