
पूर्णपुष्टि, असार २९
असारमा मात्रे करिब ९६ अर्व राजस्व संकलन भएको छ । करिब ३ महिना लामो बन्दाबन्दीमा करदाताले नतिरेको कर एकै पटक तिरेपछि करिब ९६ अर्व ५ करोड राजस्व संकलन भएको हो ।
अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको असारको तुलनामा यो असारमा राजस्व संकलन उल्लेख्य वृद्धि भएको छ । गत आवको असार १ देखि २७ गतेसम्म ६४ अर्ब ९१ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । तर, यो आवको सोही अवधिमा ९६ अर्ब ५ करोड रुपैयाँ संकलन भएको छ ।
असार २७ गतेसम्मको राजस्व संकलनको अवस्था हेर्दा यो आवमा पोहोरकै हाराहारीमा राजस्व उठ्ने अनुमान गरिएको छ ।
समग्रमा चालु आवको असार २७ सम्म ७ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा ७ खर्ब ९३ अर्ब २६ करोड रुपैयाँ उठेको थियो । यसपालि राजस्व संकलन गत वर्षको तुलनामा ४ अर्ब ७१ करोड रुपैयाँ मात्रै कम छ । गत वर्षको कुल राजस्व संकलन ८ खर्ब ३९ अर्ब ६६ करोड रुपैयाँ थियो । यसबाट राजस्व संकलन गत वर्षकै हाराहारी पुग्ने देखिएको छ । शनिबारसम्म संकलन भएको राजस्वमध्ये ८६ अर्ब ७२ करोड रुपैयाँ स्थानीय तह र प्रदेशमा बाँडफाँट हुन्छ ।
असारमा मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, आयकर र गैरकर राजस्वमा ठूलो वृद्धि भएको छ । आयकर र गैरकर राजस्वमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । पोहोरको असार १ देखि २७ गतेसम्ममा १० अर्ब ६४ करोड रुपैयाँ मात्रै आयकर संकलन भएको थियो । तर, यसपालि २४ अर्ब ५९ करोड रुपैयाँ आयकर संकलन भएको छ ।
सरकारले बन्दाबन्दी घोषणा गरेलगत्तै फागुनयताको अन्तिम किस्ता बुझाउन समय थपेको थियो । तीन महिनापछि एकमुष्ट आयकर संकलन हुँदा असारमा बढी देखिएको हो । अन्तःशुल्क र मूल्य अभिवृद्धि कर समेत बन्दाबन्दीको अवधिमा संकलन भएको थिएन । त्यसैले असारमा धमाधम कर चुक्ता भइरहेको छ ।
असार १ देखि २७ सम्म आन्तरिक राजस्व विभागले संकलन गर्ने राजस्व गत वर्षको सोही अवधिको तुलनामा झन्डै दोब्बर बढी छ । गत वर्ष यस अवधिमा २५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको विभागले यसपालि ४८ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
साउनदेखि असार २७ सम्ममा पनि विभागले ठूलै राजस्व संकलन गरेको छ । पोहोर यसअवधिमा ३ खर्ब २५ अर्ब संकलन गरेकोमा यसपटक ३ खर्ब ५१ अर्ब रुपैयाँ छ ।
भन्सार राजस्व भने यो वर्ष खासै सुधार हुन सकेन । चालु आवको सुरुदेखि नै भन्सार महसुल कम संकलन हुँदै आएकोमा बन्दाबन्दी सुरु भएपछि झनै प्राभवित बन्यो । भन्सार महसुल पोहोरको तुलनामा कम छ। साउनदेखि असार २७ सम्म एक खर्ब ३३ अर्ब रुपैयाँ मात्रै भन्सार महसुल उठेको छ । पोहोर सोही अवधिमा एक खर्ब ५२ अर्ब रुपैयाँ थियो । बढी मात्रामा विदेशी मुद्रा बाहिरिएको भन्दै सरकारले गाडीको आयातसँगै अन्य वस्तुमा समेत कडाइ गर्दा भन्सार महसुल प्रभावित भएको छ ।
विभागबाट संकलन भएको राजस्व पनि पोहोरको तुलनामा कम छ । पोहोर ३ खर्ब ५० अर्ब रुपैयाँ संकलन गरेको विभागले यसपालि दुई खर्ब ९१ अर्ब रुपैयाँ मात्रै संकलन गरेको छ ।
यसअघि बन्दाबन्दी लम्बिँदै जाने तर करदातालाई कर तिराउन दबाब दिएको भन्दै सरकारको चर्काे आलोचना भएको थियो । खासगरी आन्तरिक राजस्व विभागले कर नतिरेमा जरिवाना लगाउने जस्तो ‘धम्कीपूर्ण’ पत्र पठाएको भन्दै करदाता आक्रोशित भएका थिए ।
अर्थ मन्त्रालयको निर्देशनमा विभागले पुनः कर तिर्ने म्याद थपिएको सूचना नै सार्वजनिक गर्नुप¥यो । तर यो विषय अदालतसम्म पुग्यो । अदालतले बन्दाबन्दी नखुलेसम्म कर तिर्न दबाब नदिन आदेश जारी गरेपछि सरकारलाई अप्ठेरो प¥यो । थर्काएर कर उठाउने नीतिले अप्ठेरोमा परेको अर्थ मन्त्रालयले करदातालाई फकाउन थाल्यो ।
