Sunday, June 21News That Matters

अस्पतालमा अक्सिजन सकिएपछि छट्पटिँदै बिरामीहरु

पूर्णपुष्टि, बैशाख २९

हस्पिटलहरुमा अक्सिजनको अभावले कोरोना संक्रमित बिरामीहरु तड्पिरहेको छ । भक्तपुरको अधिकांश हस्पिटलहरुमा अक्सिजन नहँदा बिरामी बचाउन र थप बिरामीलाई भर्ना गर्न नसक्ने अवस्था रहेको हस्पिटलले जनाएको छ । जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ ।

अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ ।

यता अक्सिजन उपलब्ध गराउने कम्पनीहरुले पनि अक्सिजन नभएको बताईरहेको छ । सगरमाथा अक्सिजन कम्पनीबाट विगतमा अक्सिजन ल्याउने गरेको भक्तपुर अस्पतालले त्यहाँबाट पनि अक्सिजन पाउन छाडे । सिसीएमसीले बल्ल कान्तिपुर अक्सिजन कम्पनीमा जान भने पनि त्यहाँ अक्सिजन नै नभएको भन्दै फर्काएपछि बिरामी बचाउन चिकित्सकहरुलाई हम्मे परेको छ । पछि जनकपुरदेखि अक्सिजन ल्याउन शुरु गरेको थियो ।

तर जनकपुरबाट पनि अक्सिजन सहजरूपमा पाउन छाडेको र टाढाबाट ल्याउँदा कम्तीका दुई दिन लाग्ने हुँदा अक्सिजन अभावले अस्पताल भर्ना भएका कोभिडका बिरामीको ज्यान नै जोखिममा परेको छ । सिसीएमसीको लापरवाहीका कारण थप समस्या परेको हो ।

अक्सिजनका लागि २४ घण्टा अघिदेखि नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमदेखि अस्पताल प्रशासनसम्म भौंतारिए पनि अक्सिजन पाउन सकेनन् ।

मेसु डा गौतमले अक्सिजन कम्पनीदेखि सिसीएमसी, स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालयसम्मलाई दिनभर हारगुहार गर्दा पनि अक्सिजन नआएपछि समस्या परेको बताइन् ।