
पूर्णपुष्टि, बैशाख २९
भारतको गंगा नदी किनारमा थप ७१ बेवारिसे शव फेला परेको छ । कोरोना महामारीको बीचमा यति धेरै बेवारिसे शव भेटिनुलाई चिन्ताको विषय मानिएको छ । पछिल्लो पटक भारत बिहारमा अवस्थित गंगा नदी किनारमा बेवारिसे ७१ शव भेटिएका हो ।
ती शव कसका हुन् र कहाँबाट यति धेरै जम्मा भए भन्ने खुलेको छैन । अहिले वर्षाको बेला नभएको र नदीमा जल सतह घटेकाले बाढीले बगाएर ल्याएको भन्ने अनुमान पनि गर्न नसकिने स्थानीय अधिकारीहरु बताउँछन् । कतिपयले भने कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव जलाउने दाउराको मूल्य महँगो भएकाले निजलाई त्यत्तिकै फ्यालिदिएको हुनसक्ने अनुमानसमेत गरेका छन् ।
बक्सर जिल्लाका एसपी निरज कुमार सिंहका अनुसार शवहरु सडेका बताएका छन् । शवको अवस्था अत्यन्त खराब भएकाले घाटमै पोष्टमार्टम गरिएको थियो ।
यसअघि पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन बढी शव भेटिएका थिए । पछिल्लो पटक महादेव घाटमा भेटिएका ७१ शवहरु बक्सर जिल्ला प्रशासनले पोष्टमार्टमपछि खाल्डोमा गाडेको छ । तिनको डिएनएको नमूना भने सुरक्षित राखिएको छ ।
