
पूर्णपुष्टि, साउन २९
यो वर्ष नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७ सय ३८ हेक्टर बढी क्षेफलमा धान रोपाइँ भइसकेको हो ।
बेलैमा पानी परेको र कोरोना भाइरसले मानिसहरू ग्रामीण क्षेत्र फर्किएकाले धान रोपाइँमा सकारात्मक प्रभाव परेको हो । अहिलेसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
बेलैमा पानी पर्नु र पर्याप्त जनशक्ति उपलब्ध भएकालो गत वर्षभन्दा तीन प्रतिशत भन्दा बढी क्षेत्रफलमा रोपाइँ भइसकेको जनाईएको छ । नेपालको मुख्य खाद्यान्न बाली धान खेतीको कुल क्षेत्रफल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफल रहेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये यो वर्ष १३ लाख ४६ हजार ९ सय २० हेक्टर क्षेत्रफलमा धान लगाइएको छ । यो कुल क्षेत्रफलको ९८.१९ प्रतिशत हो । धान रोपाइँ क्षेत्रफल वृद्धि हुनुमा कोरोना भाइरसले निम्त्याएको लकडाउन नै मुख्य कारण रहेको मन्त्रालयको ठम्याइँ छ ।
लकडाउन भएपछि सहर बजारबाट धेरै मानिस गाउँघर पुुगेको र खेतीमा ध्यान दिएकाले बढी क्षेत्रफलमा धान रोपाइँ सम्भव भएको मन्त्रालयले जनाएको छ । अझै रोपाइँ जारी पनि छ र यो वर्ष ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुनसक्छ । नेपालमा भदौको पहिलो सातासम्म रोपाइँ हुने गरेको छ ।
मौसम र समयले साथ दिए यसपटक ६० देखि ६५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । देशमा ६६ लाख मेट्रिक टन धान उत्पादन भए देश धानमा आत्मनिर्भर हुने मन्त्रालयले स्पष्ट पारेको छ ।
गत वर्ष कुल क्षेत्रफलको ९४.४३ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको थियो । २०७६ मा १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९५ हजार २ सय ८२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । २०७५ भन्दा २०७६ मा धान रोपाइँको क्षेत्रफल नै घटेको थियो । २०७५ मा १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर क्षेत्रफल थियो, त्यो घटेर २०७६ मा १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमा पुग्यो ।
अर्थात् २०७५ देखि २०७६ सम्ममा एक लाख ८० हजार ७ सय ६३ हेक्टर खेतीयोग्य जमिन कम भएको थियो । त्यो कम हुनुका कारणमा खेतीयोग्य जमिनलाई खण्डीकरण गरी घडेरीमा परिणत गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
दुुई वर्षअघि २०७५ सालमा क्षेत्रफल बढी भए पनि त्यो वर्ष ९० प्रतिशत मात्र रोपाइँ भएको थियो । २०७४ सालमा साउन १६ गतेसम्ममा कुल क्षेत्रफलको ७७.०३ प्रतिशत मात्र रोपाइँ भएको थियो । अर्थात् १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर क्षेत्रफलमध्ये ११ हजार ९५ लाख ८ सय ४ हेक्टरमा धान रोपाइँ भएको थियो ।
अहिले समयमा धान रोपाइँ सम्पन्न हुनुुका साथै क्षेत्रफलमा समेत वृद्धि भएको छ । त्यसले धान उत्पादनमा वृद्धि हुने छ । २०६६ देखि चार वर्षसम्म धानको उत्पादनमा ४० लाख मेट्रिक टन तथा २०७० देखि निरन्तर ५० लाख मेट्रिक टनभन्दा बढी उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।
आव २०७३/७४ मा धान उत्पादन ५२ लाख ३० हजार मेट्रिक टन, आ.व. २०७४/७५ मा धान उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टन, आर्थिक वर्ष २०७५/७६ मा धान उत्पादन ५६ लाख १० हजार मेट्रिक टन र आ.व. २०७६/७७ मा धान उत्पादन ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
यो वर्षको साउन २७ गतेसम्म सबैभन्दा बढी धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा ९९.८६ प्रतिशत भएको छ भने प्रदेश २ मा ९९.०२ प्रतिशत भएको छ । प्रदेश ५ मा ९८.६६ र कर्णाली प्रदेशमा ९८.५३ प्रतिशत रोपाइँ भएको छ । बाग्मती प्रदेशमा ९७.८५ र गण्डकी प्रदेशमा ९७.६८ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी सबैभन्दा कम प्रदेश १ मा ९५.८८ प्रतिशत रोपाइँ भएको छ ।
