
पूर्णपुष्टि, कात्तिक १
आजदेखि यस वर्षको बडा दशैँ सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ सुरु भएको हो ।
आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धुमधामका साथ मनाइँने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ ।
यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
विधिपूर्वक घट अर्थात् घडा राखेर त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ ।घटस्थापनाको साइत आज बिहान ११ ः ४६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

