
पूर्णपुष्टि, जेठ १६ गते ।
आज (सोमवार) बाट चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणली लागू गर्ने भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले आज साँझ ६ बजेदेखि नयाँ प्रणाली लागू हुने विभागले बताएको छ ।
विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनमा लाइसेन्स ट्रायलको पालो पाइने बताए । ’१५ दिनभित्र पालो सक्ने गरी सिमित आवेदन परेपछि सिस्टम आफैं बन्द हुन्छ । त्यसपछि परीक्षा सकिएपछि फेरि खुल्छ,’ उनले भने ।
अनलाइन पेमेन्टको व्यवस्था मिलाउन समेत प्राविधिक टोलीले काम गरिरहेको घिमिरेले बताए ।
कोभिड महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाप देखिएको छ । विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन झन्डै दुईदेखि तीन वर्षसम्म पनि कुर्नुपर्ने अवस्था देखिएपछि विभागले यस्तो व्यवस्था गरेको हो ।
