Sunday, May 17News That Matters

आजबाट शुरु भयो काठमाडौं देखी दिल्लीको नियमित उडान

पूर्णपुष्टि, पुष २

कोरोना भाईरस कोभिड–१९को कारणले २०७६ चैत ११ देखी स्थगित भएको काठमाडौं देखी  दिल्लीसम्मको हवाई उडान आजबाट सुरु भएको छ । सरकारले देशव्यापी लकडाउन र हवाई उडानमाथि प्रतिवन्ध लगाएको थियो । त्यसपछि बन्द भएको यो रुटमा आज नेपाल एयरलाइन्सको जहाजले पहिलो उडान गर्दैछ ।

काठमाडौंबाट दैनिक एक जहाज दिल्ली जाने नेपाल एयरलाइन्सले जनाएको छ । सो जहाजले दिल्लीबाट यात्रुलाई काठमाडौं ल्याउने छ । भारतले एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत हवाई उडान खुकुलो बनाएको छ ।

नेपाल र भारतबीच दैनिक एकरएक वायुसेवाबाट उडान गर्ने सहमति बनेको छ । यसअनुसार भारतबाट एयर इण्डियाले नेपालमा उडान गर्नेछ । उक्त कम्पनीले भने उडान मिति तोकिसकेको छैन । खुलेको उडानमा स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्ड भने यात्रुले पुरा गर्नुपर्ने भएको छ । भारत जाँदा अधिकतम ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य गरिएको छ ।

नेपाल एयरलाइन्सकाअनुसार सरकारले समेत स्कीम स्वीकार गरेपछि भारतसँगको उडान खुलेको हो । यात्रुको चापसँगै ठूलो जहाज उडाउने तयारी निगमको छ । यस रुटमा १० चैतयता नियमित उडान हुन सकेको छैन । सरकारले गत भदौबाट अन्तराष्ट्रिय उडान खुला गरेपनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने अनुमति दिइएको थिएन ।

भारतबाट नेपाल आउने यात्रुले अनलाइन फारम भरी आवश्यक कागजात पेश गरेपछि नेपाल आउने अनुमति पाउने छन् । नेपाल र भारतबीच आवतजावतमा भिसा भने अनिवार्य छैन ।