
पूर्णपुष्टि, पुष २
खोटाङको जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका एक कार्यकर्ता हतियारसहित पक्राउ परेको छ । सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय केवी तामाङ बागध्वजलाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो ।
गतराति तामाङलाई प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । तामाङको साथबाट एक नाल भरुवा बन्दुक, राइफल तथा पेस्तोलमा लाग्ने ७३ राउण्ड गोली, बारुद, छर्रालगायत बन्दोबस्तीमा सामानहरु समेत बरामद भएको प्रहरीले जनाएको छ ।
खोटाङको साकेला गाउँपालिका–बाँझेच्यानडाँडाको सेखुवामा रहेको खलेबारी जंगलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
जंगलमा सेल्टर बनाएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । तामाङमाथि हातहतियार खरखजना तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
