Monday, April 27News That Matters

आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

पूर्णपुष्टि, साउन २१

आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी परेसँगै बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढलको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । राति र बिहानीपख देशका विभिन्न ठाउँमा ठूलो पानी पारेको प्रणाली अहिले कमजोर हुँदै गएकाले अब धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कम छ ।

तर स्थानीय वायु पनि मिसिंदा कतै कतै भने एकैछिन ठूलो पानी पर्ने सम्भावना छ । नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा भने पानी नपर्न पनि सक्छ । यस्तै आज राति देशका धेरैजसो ठाउँको मौसम सामान्य बदली भई प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।