Monday, April 27News That Matters

विवादित जम्मू कश्मीर क्षेत्र समेटेर पाकिस्तानद्धारा नयाँ राजनीतिक नक्सा जारी

पूर्णपुष्टि, साउन २१

विवादित जम्मू–कश्मीर, लद्दाख, जूनागढ क्षेत्र समेटेर पाकिस्तानले नयाँ राजनीतिक नक्सा जारी गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू कश्मीर, लद्दाख, जूनागढ समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको जानकारी दिनुभएको हो ।

मन्त्रीपरिषद्को यो निर्णय विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीर नेतृत्वले पनि स्वागत गरेको उहाँले बताउनुभएको छ ।

नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्री खानले नयाँ नक्साले पाकिस्तानी नागरिकको उमंगको प्रतिनिधित्व गरेको दाबी गर्नुभएको छ । गत वर्ष अगष्ट ५ मा भारतले कश्मीर समेटेर गैर कानुनी रुपमा नयाँ नक्सा जारी गरेको उहाँको आरोप छ ।

भारतले जारी गरेको नयाँ नक्सा आफूहरुलाई अमान्य भएकाले नयाँ नक्सा जारी गरिएको पाकिस्तानी प्रधानमन्त्री खानले बताउनुभयो । उहाँले अब पाकिस्तानको स्कुल, कलेज र सबै कार्यालयमा आधिकारिक रुपमा नयाँ नक्सा राख्ने निर्णय भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

भारतले भने पाकिस्तानको नयाँ नक्सा खारेज गर्दै यसको कानुनी वैधता र अन्तराष्ट्रिय स्तरमा कुनै विश्वसनीयता नभएको दाबी गरेको छ ।