
पूर्णपुष्टि, असार २४ । आज कोशी लगायत केही प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र भोलिदेखि मनसुनी रेखा सरदर स्थानबाट उत्तरतर्फ सर्ने भएकोले धेरै स्थानमा पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको छ ।
महाशाखाकी मौसमविद बिनु महर्जनले भोलिदेखि मनसुनी रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा रहेकोले एरिया कभरेजका हिसाबले देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको बताएकी छन् । उनका अनुसार लगातार वर्षात नभई हिजो अस्तिकै जस्तो ट्रेण्डमा पर्नेछ । मनसुनी रेखाको सरदर स्थान भन्नाले भारतको दिल्ली, कलकत्ताको आकाशको क्षेत्रलाई बुझिन्छ । त्यो रेखा उत्तरतर्फ सर्यो भने नेपालमा बढी पानी पर्दछ ।
वर्षाको समयमा बाढी, पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
