Thursday, May 21News That Matters

आज मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस

पूर्णपुष्टि, बैशाख १९ गते । 

आज मे १ अर्थात एक सय ३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस हो । विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरसका कारण यस वर्षको एक सय ३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस भब्यता कार्यक्रमका साथ हुन सकेन ।

कलडाउन भएकाले औपचारिक कार्यक्रम नगरेपनि दिवसको अवसर पारेर संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले कोरोनाले श्रमिकमा परेको साझा समस्या सम्बोधन गर्न सरोकारवालाको ध्यानाकर्षण गराउँदै दिवस मनाउने जनाएको छ ।

श्रमिकका समस्या समाधान गर्न दबाब दिने उद्देश्यले देशभरका एकाइमार्फत नेपाल ट्रेड युनियन कांग्रेसले सरकारलाई पत्राचार गरेको जनाएको छ ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । उक्त नारासहित सन् १८८६ मा अमेरिकाको शिकागोमा विश्व मजदुर दिवस मनाइएको थियो ।

अमेरिकाको शिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन र्गयो । प्रहरीको गोली लागेर सात मजदुरको ज्यान गयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।

विश्वभरका मजदुरले दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।