Friday, May 22News That Matters

आज लोकतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

पूर्णपुष्टि,वैशाख ११ । आज अप्रिल २४ अर्थात १७औँ लोकतन्त्र दिवस । आज चोक चौताराहरूमा दीप प्रज्वलन, नगर तथा टोल सरसफाइ, प्रभात फेरी र प्रवचन, जनआन्दोलनका शहीदहरूको सम्झना र घाइते तथा उनीहरूका परिवारलाई सम्मान गरिँदै विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।

विसं २०६२–०६३ सालको आन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनकालको अन्त्यको सम्झनामा हरेक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाइएको हो । यो दिवस विसं २०६४ सालदेखि देशभर मनाउन सुरुगरिएको हो यस दिनलाई नेपाली जनताहरूले आफू विजयी भएको दिनको रूपमा स्मरण गर्दछन् ।

निरङ्कुश राजतन्त्रले २०६२–६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन पछि वैशाख ११ गते घुँडा टेकेको थियो । त्यति बेला १९ दिने ऐतिहासिक जनआन्दोलन र सशस्त्र युद्धरत तत्कालीन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरू बिच १२ बुँदे सहमति भएको थियो।

पुनः स्थापित संसद् बैठकले जेठ ४ गते राजा र राजदरबारको अधिकार कटौती गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्पको प्रस्ताव पारित गर्‍यो । २०६३ मङ्सिर ११ मा माओवादी शान्तिपूर्ण राजनीतिमा आयो ।

यसैको आधारमा पहिलो संविधानसभा निर्वाचन २०६४ चैत २८ गते भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको विधिवत् अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गरेको थियो ।

आजैका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित संसद् पुनः स्थापना गर्दै जनताको नासो जनतालाई नै दिएँ भनी शासन सत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । सोही दिन अर्थात् वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो ।