Thursday, June 18News That Matters

सन्दिप विरुद्धको मुद्धाको आज अन्तिम सुनुवाई

पूर्णपुष्टि, बैशाख ११ । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको मुदाको आज अन्तिम सुनुवाई हुने भएको छ । नाबालिक बलात्कार आरोप लागेका लामिछाने विरुद्धको मुद्धा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा हुनेछ भने पेशी चौथौ नम्बरमा छ।

यसअघि शंकर बरालको इजलासले चैत २६ गते लामिछानेविरुद्धको मुद्धामा दुई साक्षीको बकपत्र नभएको कारण साक्षी बुझाउन आदेश दिएको थियो । फास्ट ट्र्याकबाट सन्दिप विरुद्धको मुद्धा किनार लागउन सर्वोच्चले फागुन १५ गते आदेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार उनको मुद्धाको अन्तिम सुनुवाइ हुन लागेको हो ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दिप विरुद्ध २१ भदौमा जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिईन् । प्रहरीमा जाहेरी दर्ता हुँदा क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा रहेका सन्दिपलाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत निलम्बन गरेको थियो । क्रिकेट खेल्न गएका सन्दिप नेपाल नफर्किरपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले असोज १० गते डिफ्युजन नोटिस गरेको थियो भने सोज २० गते नेपाल आएका सन्दिप विमानस्थलबाटै पक्राउ परेका थिए ।

कार्तिक १८ मा जिल्ला अदालत काठमाण्डौँले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो भने सो आदेश विरुद्ध सन्दिपले उच्च अदालतमा पुनरावेदन दिएका थिए । पुस २८ गते उच्च अदालतले विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउने लगायत सर्त र २० लाख धरौटी सहित लामिछानेलाई रिहा गरेको थियो ।

उच्च अदालतको आदेशविरूद्ध सन्दिपले क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित फागुन १२ गते सर्वोच्चमा निवेदन दिएका थिए भने सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने महान्यायाधिवक्ताको कार्यालयको माग रहेको थियो । दुबै निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति सहित मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउन भनिएको हो ।