Friday, May 22News That Matters

आज विश्व शरणार्थी दिवस

पूर्णपुष्टि,असार ५ । आज विश्वभर शरणार्थी दिवस मनाइएको छ । वर्षेनी जुन २० का दिन यो दिवस मनाउने गरिन्छ ।

२००१ जुन २० देखि विश्व शरणार्थी दिवस मनाउने गरिएको छ । द्वन्द्व, हिंसालगायतका कारणले विश्वमा धेरै मानिस आफ्नो थातथलो छाड्न बाध्य हुने गरेका छन् । भुटानबाट आएका करिब ५० हजार शरणार्थीमध्ये धेरैलाई अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्ड, न्यूजिल्याण्ड, नर्वे, बेलायत, अमेरिकालगायतका तेश्रो देशमा पुनर्वास गराइएको छ ।

यस अवसरमा राष्ट्रसंघले शरणार्थी, शरणार्थीको मान्यता पाउनका लागि आश्रयको खोजीमा रहेका, राज्यविहीन मानिस तथा शरणार्थी जीवन बिताएर आफ्नो ठाउँ फर्किएका अनि शरणार्थी बन्ने जोखिममा रहेकाको हकका लागि एक भएर काम गर्न आग्रह गरेको छ ।

विश्वमा शरणार्थीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगका अनुसार सन् २०१७ को अन्त्यसम्ममा विश्वमा ६ करोड ८५ लाख शरणार्थी पुगेका छन् । युद्ध, हिंसा तथा उत्पीडनका कारण धेरै मानिस विस्थापित हुने गरेका हुन् । प्रजातान्त्रिक गणतन्त्र कंगो, दक्षिण सुडान, म्यानमार र सिरियाबाट धेरै मानिस पलायन भएको जनाइएको छ ।

शरणार्थीको दर्जा पाउनका लागि आश्रयका लागि निवेदन दिनेको संख्या गतवर्षको अन्त्यसम्ममा ३१ लाखभन्दा बढी पुगेको युएनएचसिआरले जनाएको छ । आफ्नै देशभित्र विस्थापित हुनेको संख्या पनि चार करोड रहेको जनाइएको छ । नेपालमा अहिले सोमालिया, बंगलादेश, नाइजेरिया, म्यानमारलगायतका देशका शरणार्थी छन् ।