Tuesday, April 21News That Matters

आज सर्वदलीय बैठक बस्दै

पूर्णपुष्टि, चैत ३ 

आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाउनुभएको छ ।

राष्ट्रपतिले दिउँसो चार बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राष्ट्रपतिले दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

दलहरूबीच बढ्दै गइरहेको असन्तुष्टि, सत्तारुढ दल एमाले विभाजन उन्मुख भएको अवस्था र सत्ता समीकरण सङ्घर्षकाबीच बस्न लागेको यो बैठकलाई महत्त्वकासाथ हेरिएको छ ।

पूर्वप्रधानमन्त्रीसहित सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको जनाईएको छ ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि राजनीतिक दलबीच तिक्तता बढेको थियो ।

त्यस्तै गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई एकीकरण अघिकै अवस्थामा पुर्याइदिएपछि वर्तमान सरकारको भविष्य अन्योलमा परेको छ ।