Thursday, June 18News That Matters

आज २५६७औं बुद्ध जयन्ती मनाइँदै

पूर्णपुष्टि, बैशाख २२ । आज २५६७औं बुद्ध जयन्ती मनाइँदै छ । बैशाख शुक्ल पूर्णीमाको दिन भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको २५६७औँ जयन्ती बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएका योगदानको स्मरणस्वरूप यस पर्व मनाईने गरिएको हो । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट राजकुमारका रुपमा वैशाख शुक्ल पूर्णिमाका दिन जन्मिएका सिद्धार्थ गौतमको (मृत्य) पनि बैशाख शुक्ल पूर्णिमाकै तिथिमा भएको थियो । सोही कारण यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ ।