
पूर्णपुष्टि ब्युरो/बसाहा, भदौ ३० ।
एतिहासिक ब्यक्तित्व एवम् प्रजातान्त्रिक योद्धा स्वर्गिय नारदमुनी थुलुङको सम्मान्मा उदयपुरको बसाहामा सञ्चालन हुदै आएको गोल्डकप यो वर्षपनि हुने भएको छ । चारलाख पुरस्कार राशीको नारदमुनी स्मृति गोल्डकपको आठौं संस्करण आगामी असोज ९ गतेदेखि १६ गतेसम्म हुने भएको हो । 
खेलका लागि चौदण्डीगढी नगरपालिका –४ बसाहास्थित नारदमुनी रङ्गशाला तयारी अवस्थामा छ । रङ्गशाला घेराबेरामा वडा कार्यालयले ६ लाख ५० हजार खर्च गरेको जनाएको छ । रङ्गशाला निर्माणमा देश–विदेशमा रहेका बसाहाबासी भुतपूर्व सैनिकहरुको विशेष योगदान र भुमिका रहेको मुल आयोजक समितिका सल्लाहकार जितेन्द्र साम्पाङ राईले जानकारी दिए । बसाहाबासी अन्य ब्यक्तित्वहरु र युवाहरुको पनि उत्तिकै भुमिका र सहयोग रेहको उनले जानकारी दिए । “भुपु सैनिकहरु र अन्य ब्यक्तिहरुको रगत, पसिना सिंचिएको रङ्गशाला आठौं संस्करण गोल्डकप हुदै गर्दा गर्वले छाती फुलेको छ ।” सल्लाहकार राईले भन्नुभयो ।
गोल्डकपमा एक विदेशी टिमसहित आठ राष्ट्रिय टिमले भाग लिने पत्रकार सम्मेलनमार्फत आज जनाइएको छ । सहभागि टिमहरुमा क्यामरुनको एक विदेशी टिम, चारतारे क्लव मोरङ, गोर्खा ब्वाईज स्पोर्ट रुपन्देही, चर्च ब्वाईज क्लव काठमाडौं, गोर्खा स्पोर्टिङ क्लव झापा, भोजपुर जिल्ला फुटवल संघ, डिटिसी सुनसरी र आयोजक बसाहा क्लव रहेको क्लवका पूर्व अध्यक्ष एवम् आयोजक समितिका शेखर राईले जानकारी दिए । सबै टिम र खेलाडीहरुको खाने, बस्ने, आउने, जाने लगायतका ब्यवस्थापन आयोजकले गर्नेछ ।
०६९ सालमा पहिलो संस्करण भएको गोल्डकपको सातौ संस्करण तीन लाख पुरस्कार राशीको रहेकोमा यो पटक बृद्धि भएको हो । उपविजेतालाई दुईलाख पुरस्कार राशी रहेको छ । गोल्डकपको अनुमानित आय–ब्यय ३२ लाख ७३ हजार रुपैया रहेको मुल आयोजक समितिका संयोजक भुपेन्द्र राईले जानकारी दिए । मुख्य सहयोगी चौदण्डीगढी नगरपालिका, वडा कार्यालयहरु, गोर्खा फाइनान्स र अन्य सहयोगीहरु रहेका छन् । तयारीको ७५ प्रतिशत कार्य पुरा भइसकेको संयोजक राईले बताए ।
गोल्डकपले स्थानीय खेलाडीहरु उत्पादनमा योगदान गरेको छ । यहाँ उत्पादित खेलाडीले ब्यवसायिक खेलसम्म खेल्न थालेका छन् । कोरोना महामारीले केही समय स्थगित रहेकोमा अव निरन्तरता दिइएको आयोजक क्लवका अध्यक्ष शेरबहादुर मगरले बताए । पूर्वाञ्चलको गौरवको रुपमा स्थापित नारदमुनी स्मृति गोल्डकपलाई सबैको साथ र सहयोगको अपेक्षा आयोजकले राखेको छ ।
अन्य तस्विरहरु :

