Sunday, May 17News That Matters

आफ्नै साथी हत्याको आरोपमा युवक पक्राउ

पूर्णपुष्टि, जेष्ठ २६ कैलालीमा आफ्नै साथी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–२ मोतिपुरमा डेरा गरेर बस्दै आएका कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई कैलाली प्रहरीले पक्राउ गरेको हो । आफूसँगै बस्ने साथीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको अनुसन्धान गर्दै जाँदा हत्या गरिएको आशंकामा फरार भएका बस्नेतलाई लम्कीचुहा नगरपालिकाको वीरेन्द्र सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ प्रहरीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बस्नेतलाई उनीसँगै बस्दै आएका धनगढीका ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बुढाथोकीको टाउकोमा चोट लागेको अवस्थामा २४ जेठमा कोठामै मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानबाट दुवै जनाले घरेलु मदिरा सेवन गरेपछि आपसमा विवाद हुँदा बस्नेतले कोठामै रहेको फलामको कर्नीले टाउकोमा हिर्काएर हत्या गरेको बुझिएको प्रहरीले जनाएको छ ।