
पूर्णपुष्टि, साउन २७ । गाजा क्षेत्रमा इजरायली सेनाको निरन्तर आक्रमणले थप मानवीय क्षति भएको छ। युद्धका कारण विस्थापित भएकाहरूले आश्रय लिइरहेको एक विद्यालयमा भएको आक्रमणमा कम्तिमा ९३ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले जनाएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार शनिबार बिहान साढे चार बजे अल तबिन स्कुल भित्रको मस्जिदमा तीनपटकसम्म आक्रमण भएको थियो। यस आक्रमणमा महिला र बालबालिकासहित धेरै निर्दोष सर्वसाधारणको ज्यान गएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म यस युद्धमा ३९ हजार ६९९ प्यालेस्टिनीको मृत्यु भएको छ भने ९१ हजार ७२२ जना घाइते भएका छन्। गाजाका २३ लाख जनसंख्यामध्ये ९० प्रतिशत विस्थापित भएका छन्।
संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले शरणार्थी शिविरहरुमा आक्रमण बढेको भन्दै निन्दा गरेको छ। इजरायलले एक हप्तायता स्कुलहरुमा रहेका शरणार्थी शिविरहरुमा लगातार आक्रमण गर्दै आएको छ, जहाँ लाखौं व्यक्तिहरुले आश्रय लिइरहेका छन्।
यो हिंसाको सुरुवात गत ७ अक्टोबरमा भएको थियो, जब हमास र केही प्यालेस्टिनी चरमपन्थी समूहले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेका थिए। त्यस आक्रमणमा १ हजार २०० जनाको मृत्यु भएको थियो, जसमा १० जना नेपालीहरु पनि थिए। साथै, २५० भन्दा बढी व्यक्तिलाई बन्धक बनाएर गाजा क्षेत्रमा लगिएको थियो।
त्यसयता, इजरायलले आतंकवादीलाई समाप्त पार्ने भन्दै गाजामा लगातार आक्रमण गरिरहेको छ। बन्धक बनाइएकाहरुलाई रिहा गर्न र युद्ध अन्त्य गर्न विभिन्न प्रयासहरू भइरहे पनि अहिलेसम्म सफल भएका छैनन्।
