
पूर्णपुष्टि, साउन २३
सुनसरीको इटहरीमा खोलाबाट ल्याइएको गिट्टीमा बम भेटिएको छ । इटहरी उपमहानगरपालिका–२ स्थित अन्नपूर्ण मार्गमा ग्रिनेड बम फेला परेको थियो । सो बमलाई नेपाली सेनाले निष्कृय पारेको छ । शनिबार बिहान अन्नपूर्ण मार्गमा गिट्टी खन्याएर सडक समयाउने क्रममा बम फेला परेको हो ।
बिहान करिब ८ बजे सडक निर्माणका क्रममा गिट्टी खन्याएपछि एक बालकले उक्त बम फेला पारेका थिए । स्थानीयले बमजस्तै शंकास्पद वस्तु फेला परेपछि इलाका प्रहरी कार्यालय इटहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले इटहरीस्थित सेनाको डिस्पोजल टोलीलाई खबर गरेको थियो । बम डिस्पोजलको टोली आएर चेकजाँच गरेपछि उक्त शंकास्पद वस्तु ग्रिनेड बम रहेको खुलेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताउनुभयो ।
अन्नपूर्ण मार्गमा ल्याइएको उक्त गिट्टी सेउती खोलादेखि ल्याएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
