Sunday, May 17News That Matters

इन्सेकले असारमा १६२ मानव अधिकार उल्लङ्घनका घटना घटेको तथ्याङक सार्वजनिक गर्यो

पूर्णपुष्टि, साउन ८

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असार महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १६२ घटना घटेको तथ्याङक सार्वजनिक गरेको छ । एक महिनामा १०८ महिला र ५४ पुरुष गरी १६२ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको तथ्याङक इन्सेकले सार्वजनिक गरेको हो ।

इन्सेकका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४६, प्रदेश २ मा ४४ जना, लुम्बिनी प्रदेशमा २१ जना, प्रदेश १ मा २० जना, गण्डकी १५, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा ४ जना पीडित भएका छन् । ती घटनामध्ये पत्नी हत्याका ६, परिवारजनबाट हत्याका ४, बलात्कारपछि हत्याको ३, बलात्कार प्रयासपछि हत्याको  १ सहित २२ जनाको हत्या भएका घटना अभिलेख गरिएको छ ।

यो अवधिमा झडपमा १२ जनासहित १५ जना घाइते भएका छन् । गिरफ्तारीका घटनामा ३ महिलासहित ३० जना, कुटपिटबाट ५ जना, धम्कीका घटनामा १ जना र यातनाका घटनामा १ जना पीडित भएका छन् । बालअधिकार उल्लङ्घनका घटनामा परी ५३ जना बालिका पीडित भए भने महिला अधिकार उल्लङ्घनका घटनामा ३२ जना पीडित भएको इन्सेकले जनाएको छ ।