
पूर्णपुष्टि, चैत १२ ।
निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले निर्माणाधिन मदन भण्डारी राजमार्गको पुल निर्माण कार्यमा उदयपुरकाे राजाबासमा खटिरहेका ५० जना कामदारहरुलाई विचल्नी पारेको छ ।
कोरोना भाइरसको संक्रमणबाट नागरिकहरुलाई जोगाउन लकडाउन घोषणा गर्नुअघि नै कन्स्ट्रक्सनले कामदारहरुलाई घर जाने व्यवस्था नगरिदिदा विचल्नीमा परेको मजदुरहरुको नाइके गणेश चौधरीले बताउनुभयो । उदयपुरको त्रियुगा नगरपालिका ८ राजाबासमा पुल निर्माणमा खटिरहेका मजदुरहरु विचिल्नीमा परेका हुन् ।
सरकारले केही समयअघि नाकाहरु बन्द र लामो दुरीका सवारी साधन बन्द गर्ने भन्दैगर्दा नै मजदुरहरु जाने तयारी भएका थिए । जानका लागि निर्माण कम्पनीले बसको व्यवस्था गरिदिने भनेपनि भाडामा कुरा नमिलेपछि मजदुरहरु जानबाट रोकिएका थिए । जानबाट एकदिन ढिलो रोकिएपछि देशमा लकडाउन आजबाट सुरु भएको छ । लकडाउनका कारण बस चल्न नपाएपछि मजदुरहरु घर जान नपाई विचल्नीमा परेका हुन् ।
उनीहरुलाई खान र सुरक्षित बस्न समस्या रहेको बताएका छन् । खाना पकाउन ग्याँसको पनि अभाव रहेको बताएका छन् । त्यतिका ठूलो संख्यामा सुत्न बस्न र खाना बनाएर खान समस्या रहेको नाइके चोधरीले बताउनुभयो । बजारमा खाद्यन्न खरिद ग र्न समस्या रहेको र महंगीसमेत भएकाले अझ समस्या हुने देखिएको छ ।
राज्यले धेरैको भिड जम्मा नहुन, एकठाउँ नबस्न भनिरहेको बेला मजदुरहरु त्यसरी विचल्नीमा परेका छन् । मजदुरहरु सबै घर जान चाहेको तर गाडी चल्न नपाएपछि समस्या झेल्नु परेको छ ।
प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले मजदुरहरुको समस्याको विषयमा जानकारी आएको बताउनुभयो । तर, अहिलेको अवस्थामा उनीहरुलाई गाडीबाट घर पढाउन सक्ने अवस्था नरहेको बताउनुभयो । कोरोना भाइरसको संक्रमणप्रति उच्च सतर्कता अपनाउन प्रशासनले आवतजावतमा पूर्ण प्रतिबन्द्ध लगाउन परेको बताउनुभयो । आजको दिनसम्म उनीहरुलाई घर पठाउन सक्ने अवस्था नरहेको बताउनुभयो । मजदुरहरुको जिम्मेवार पक्षलाई उनीहरुलाई खान, बस्नको राम्रो ब्यवस्था मिलाउन निर्देशन दिइने उहाँले बताउनुभयो ।
