Saturday, December 13News That Matters

उदयपुरका एक बालक १२ बर्षदेखी फलामे साङ्लोमा

पूर्णपुष्टि, बैशाख १९ । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा एक १८ वर्षीय बालक १२ वर्षदेखि फलामको साङ्लोमा बाँधिएको अवस्थामा फेला परेका छन् । उदयपुरगढी गाउँपालिका–५ आम्बोटे घर भई हाल नेपालटारमा भाडामा बस्ने ५० वर्षीय शुसिल तामाङका छोरा विशाल तामाङलाई परिवारले बाध्यतावश बाँधेर राख्नुपरेको छ ।

‘बाध्यता हो, इच्छा होइन’

‘जन्मदा ठिकै थियो । छ वर्ष पुगेपछि एकोहोरो हुने र हिँडेपछि घर नफर्कने भयो । दिशापिसाव पनि गर्न नसक्ने भयो । जहाँ पायो त्यहीँ दिशापिसाव गरिदिन्छ । अनि बाँधेर राख्नु परेको छ । बाध्यता नभए कसले छोराछोरी बाँधेर राख्छ होला,’ बुवा शुसिल तामाङ आफ्नो पीडा व्यक्त गर्दै भन्छन् ।

छोराको स्थिति देख्दा शारीरिक र मानसिक रूपमा अपाङ्गता भएको प्रष्ट देखिन्छ । झट्ट हेर्दा नै विशालको अवस्था दयनीय छ । उनलाई फलामे साङ्लोले बाँधिएको छ, अन्य कुनै पनि डोरीले बाँध्दा टोकेर चुँडाई भाग्ने गरेको बुवाले बताए ।

जटिल पारिवारिक परिस्थिति :

जग्गाजमिनविहीन शुसिलले अहिले दोस्रो श्रीमतीसँग जीवन बिताइरहेका छन् । उनी भन्छन्, ‘मेरो दुईवटी श्रीमती हुन् । जेठी श्रीमतीको नाम जानुकुमारी तामाङ हो । उपट्टीका पहिलो छोरी र अहिले बाँधेर राखेको छोरा हो । छोरीको विहे भयो । छोरो यस्तो विरामी छ । उपचार गर्न पैसा भएन ।’

शुसिल लामो समयदेखि ज्याला मजदुरी गर्दै आएका छन् । उनले बताए अनुसार पहिलो श्रीमती जानुकुमारीले दोस्रो विहे गरेर छोराछोरीसहित छोडेको थियो । ‘जेठीपट्टीका छोरा र छोरी जन्मेपछि जानुकुमारी दोस्रो विहे गरेर गई । छोराछोरी पनि सँगै लिएर गई । जानुकुमारीले विहे गरेर गएको घरमा पनि मेरो छोरो बाँधेर राखेकी थिइन् । छोराको माया लागेर म गएर हेरेर मात्र फर्कथेँ,’ शुसिलले थपे । जानुकुमारीले तेस्रो विहे गरेपछि शुसिलले विशाललाई आफूसँग ल्याए । अहिले शुसिलसँग कान्छी श्रीमती रिता तामाङमगर र चार वर्षीय छोरा कुमार तामाङ छन् ।

दैनिक संघर्ष :

‘बाँधेर राखिएको छोराले दिशापिसाव जहाँ बस्यो त्यहीँ गर्दछ । नबाँधी राखे हिँडेपछि फर्केर घर आउँदैन । दिएको खाना आफैँ खाने गर्दछ,’ शुसिल भन्छन्, ‘छोराको दिशापिसाव आफैँ सोर्नु पर्दछ ।’ परिवारको एकमात्र आम्दानीको स्रोत शुसिलको ज्याला मजदुरी हो, जसले गर्दा छोराको उचित उपचार गराउन असमर्थ छन् ।

उपचारको खोजी :

शुसिलले छोराको उपचारको लागि प्रयास गरेको तर सफल हुन नसकेको दुखेसो पोखे । ‘सानैमा उपचार गर्न खोजेको थिएँ । कतैबाट साथ सहयोग पाइनँ । छोरो लिएर पोइल गएकी श्रीमतीसँग पनि छोरो ल्याएर उपचार गराउन खोजेँ । तर, सकिनँ । गाउँमा रहेको अस्पतालका डाक्टरहरूले ठूलो अस्पतालमा लानु पर्छ भने । पैसा थिएन । भाग्यले धोका त दिएको होला ।’

१८ वर्षीय विशालको अहिलेसम्म रोग पहिचान हुन सकेको छैन । स्थानीय स्वास्थ्यकर्मी बोधकुमार घिमिरेले विशालमा मानसिक रोग र नशासम्बन्धी समस्या हुनसक्ने आशंका गरेका छन् । ‘अवस्था दर्दनाक छ । म पनि स्वास्थ्यकर्मी भएकाले न्युरोसम्बन्धी समस्या जस्तो लाग्यो । सुरुमै उपचार पाएको भए सम्भव थियो । अब भन्न सकिँदैन । एक पटक उपचार गराउने व्यवस्था मिलाउन पाए झनै राम्रो हुने थियो । आर्थिक अवस्था कमजोर छ । कसले सहयोग गर्ला र ? घिमिरेले थपे ।