Friday, January 30News That Matters

उदयपुरका जंगलमा १८ प्रजातिका वन्यजन्तु फेला

पूर्णपुष्टि, असोज १९ । उदयपुरका विभिन्न सामुदायिक वनमा जडान गरिएका ट्र्यापिङ क्यामेरामा चितुवादेखि नीलगाईसम्म १८ प्रजातिका स्तनधारी वन्यजन्तु फेला परेका छन् । एनसी एससीको सहयोगमा त्रियुगा नगरपालिका–५ देउरीस्थित सरस्वती सामुदायिक वनले आयोजना गरेको एक दिने गोष्ठीमा यी तस्बिर र भिडियो सार्वजनिक गरिएको हो ।

‘मानव, वन्यजन्तु र प्राकृतिक वनस्पतिबीचको सहअस्तित्व कायम गरी बाँचौं र बचाऔं’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा जिल्लाका १३ वटा सामुदायिक वनमा जडान गरिएका क्यामेराले कैद गरेका वन बिरालो, चितुवा, सानो र ठूलो नीर बिरालो, गाजले नीर बिरालो, चरी बाघ, नीलगाई, बँदेल, पाटेभालु र रतुवा लगायतका जनावरका दृश्य देखाइएको थियो । यस्तै दुम्सी र गोहोरो जस्ता सरिसृप पनि फेला परेका छन् ।

त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले जनसंख्या वृद्धिसँगै वनजंगल मासिँदै गएको र यसले वन्यजन्तुको अस्तित्वमा समेत खतरा पुगेको बताए । उनले वनजंगल र वन्यजन्तु संरक्षणका लागि सबै सरोकारवाला निकाय र आमनागरिक एकजुट हुनुपर्नेमा जोड दिए । मेयर बस्नेतका अनुसार वन संरक्षणले जलवायु परिवर्तन न्यूनीकरणमा मात्र नभई आर्थिक विकासमा समेत टेवा पुर्‍याउँछ ।

सरस्वती सामुदायिक वनका अध्यक्ष दीपक बान्तवाले प्रकृति र मानव एकअर्काका परिपूरक भएको बताउँदै वन संरक्षणमा जोड दिए । उनले रासायनिक मलको सट्टा वनजंगलको पतकर, झारपात र पशुपंक्षीको मल प्रयोग गर्न सुझाव दिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका नेता तथा सामुदायिक वनका पदाधिकारीको उपस्थिति थियो । प्रकृति संरक्षण कोषको सहयोगमा जडान गरिएका क्यामेराले वन्यजन्तु अनुगमन र संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताए ।