
पूर्णपुष्टि, फागुन ८
उदयपुरका दुई युवकको भक्तरपुरमा मृत्यु भएको छ । शुक्रबार राती अचेत अवस्थामा भेटिए दुवैजनाको उपचारको क्रममा मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुवैजना बेहोस् अवस्थामा भेटिएका थिए । जसमा उदयपुर घर भई मध्यपुर ठिमी नगरपालिका–२ बस्ने ४० वर्षीय गणेश मगर र उदयपुरकै कटारी नगरपालिका–९ घर भएका ३५ वर्षीय सुरज तामाङ रहेका छन् ।
त्यस्तै घटनामा नाम थर र ठेगाना नखुलेका अर्का एक व्यक्तिको शव समेत खोला छेउमा भेटिएको छ । उदयपुरका दुई युवक बेग्ला बेग्लै ठाउँ र समयमा स्थानीयले फेला पारेका थिए ।
मगर शौचालयमा राति सवा २ः०० बजे अचेत अवस्थामा फेला परेका थिए ।
उनलाई श्रीमती र स्थानीयको सहयोगमा नजिकैको कोरियन अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारकै क्रममा डाक्टरले मृत घोषणा गरेको थियो ।
भक्तपुर परिसरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार बिहान साढे ५ः०० बजे कटारीका तामाङ मध्यपुर ठिमी नगरपालिका–२ दिव्यश्वरी प्लानिङ हलेसी मार्टको पछाडि अचेत अवस्थामा फेला परेका थिए ।
होस नभएको अवस्थामा रहेका तामाङ घोप्टो अवस्थामा भेटिएका थिए । उनको पनि शुक्रबार बिहान पौने ७ः०० बजे मृत्यु भएको हो ।
घटनास्थलमा भेटिएका केही प्रमाण र प्रकृतिको आधारमा सूक्ष्म अनुसन्धान थालिएको एसपी श्रेष्ठले जानकारी बताउनुभयो ।
भेटिएका तीनैजनाबीचको घटना एउटै कारणबाट भएको हुनसक्ने अनुमान गरिएको छ ।
