Wednesday, April 22News That Matters

उदयपुरका विद्यार्थीद्वारा व्यावसायिक फूल खेती

पूर्णपुष्टि, कार्तिक ५ । आगामी तिहार र छठ पर्वको बजार मागलाई लक्षित गरी उदयपुरमा कृषि प्राविधिक विद्यार्थीहरुले व्यावसायिक फूल खेती थालेका छन् । कटारी नगरपालिका-४ त्रिवेणीस्थित कृषि प्राविधिक धारका विद्यार्थीहरुले सयपत्री फूल खेती गरेका हुन् ।

समूहका व्यवस्थापक त्रिसम कार्कीका अनुसार यो वर्ष १० कठ्ठा क्षेत्रफलमा सयपत्री फूल रोपिएको छ । “लामो समयदेखि फूलमा परनिर्भर रहेको जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले फूल खेती थालेका हौं,” कार्कीले भने ।

कार्कीसहित राजु ठाकुर, राजु थापा, युनिष राई, गौरब कार्की, रोदन सुबेदी, एलिशा थापा, रिता मगराती र सुस्मीता पुलामीमगर गरी नौ जना विद्यार्थीको समूहले गत वर्षदेखि फूल खेती सुरु गरेका हुन् । समूहले अघिल्लो वर्ष १७ कठ्ठामा फूल खेती गरी जिल्लाको सदरमुकाम गाईघाट, कटारी र बेल्टार बेलका रामपुर लगायतका बजारमा बिक्री गरेको थियो ।

“प्राविधिक धारमा पढ्दै, सिक्दै र कमाउँदै” भन्ने नारासहित विद्यार्थीहरुले कक्षामा सिकेका सीपलाई व्यवसायमा उतारेका छन् । यस पहलले अघिल्ला वर्षहरुमा भारतबाट हुने फूलको अत्यधिक आयातलाई कम गर्न सहयोग पुगेको छ ।