
पूर्णपुष्टि, बैशाख १० । उदयपुरका प्रतिष्ठित जनकवी स्वर्गिय गम्भिरबहादुर थापाको तस्बिर अंकित १० रुपैँयाको हुलाक टिकट प्रचलनमा आएको छ । सोमबारबाट देशै भर थापाको तस्बिर अंकित हुलाक टिकट प्रचलनमा आएको हो ।
जिल्ला हुलाक कार्यालय उदयपुरमा ४ हजार टिकट आएको हुलाक अधिकृत हरिलाल खत्रीले जानकारी दिए । नेपाल सरकारका संघीय सभामुख देवराज घिमिरेले गत फागुन ३ गते थापाको तस्बिर अंकित १० रुपैँयाको हुलाक टिकटमा टाँचा लगाई प्रचलनमा ल्याउनुका साथै सालिक अनावरण गरेका थिए । जिल्ला हुलाक कार्यालयको रोहबरमा सभामुख घिमिरेले टिकट आवरण गरी टाँचा लगाउनु भएको थिए।
उदयपुरको उदयपुरगढी–४ मा १९८१ असार १४ मा जन्म भई साहित्य, राजनीति र समाजसेवामा विशिष्ट योगदान पुर्याएका थापाको ८५ वर्षको उमेरमा स्वर्गरोहण भएको थियो । २००७ सालका जनक्रान्तिको स्वतन्त्र सेनानी तथा प्रजातान्त्रिक योद्धा रहेका स्वर्गिय थापाको त्रियुगा नगरपालिका ६ जलजलेमा सालिक निर्माण भएको छ ।

