
पूर्णपुष्टि, माघ ६
विश्व मानव जिवनमा सर्वाधिक लोकप्रिय बनेको फेसबुक अति आवश्यको रुपमै प्रयोगमा आएको छ । फेसबुक दुईदसक यता मानिसको दैनिकीनै बनेको छ ।
सामाजिक संञ्जालको एक मुख्य माध्यम हो फेसबुक, फेसबुक विश्वभरका हरेक व्यक्तिहरुले प्रयोग गर्ने गरेको पाईन्छ । सन् २०२० को अप्रिलसम्ममा विश्वका २ दशमलव ७ बिलियन भन्दा बढी मानिसहरुले फेसबुक चलाइरहेको एउटा रिपोर्टले देखाएको छ ।
सन् २०२० को जनवरीसम्मको डाटा अनुसार नेपालमा भने कुल जनसंख्याको ३४ दशमलव ४ प्रतिशत अर्थात १ करोड ५ लाख २० हजार जनाले फेसबुक चलाइरहेको देखिन्छ ।
विश्वकै एक ठुलो सामाजिक संञ्जालको माध्यम फेसबुकको मुख्यालय (हेडक्वार्टरमा) उदयपुरकी एक चेली सिनियर सफ्टवेर इन्जीनियर बन्न सफल भएकिछिन् । उदयपुरको रौतामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षीया बैअबु राई हालै अमेरिकाको क्यालिफोर्नियास्थित फेसबुकको मुख्यालयमा सिनियर सफ्टवेयर इन्जिनियरको रुपमा प्रवेश गरेकी हुन् ।
बाबु म्याम्बर राई र आमा शान्ता राईकी छोरी बैअवु राईले यहीँ सातादेखि फेसबुक मुख्यालयमा वरिष्ट कम्प्युटर (सफ्टेक) इन्जिनियरको भूमिका निर्वाह गर्नेगरी प्रवेश पाएकी छिन् । गाईघाटको लालीगुराँस आवासीय विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेकी बैअवु पूर्ण छात्रबृतिमा बुढानिलकण्ठ स्कुलबाट प्रवेशिका उत्तिर्ण बिद्यार्थी हुन् । उत्कृष्ट नतिजा ल्याउँन सफल उनी त्यसपछि बेलायतको प्रतिष्ठित कलेजबाट पूर्ण छात्रवृत्तिमै उच्च शिक्षा हासिल गर्दै अमेरिकाको म्यासेच्युसेट इन्स्टीच्युट अफ टेक्नोलोजी कलेज छात्रवृत्तिमै पढ्न पुगेकी हुन् ।
पूर्व नेपाली सैनिक बाबु म्याम्बरका अनुसार बाल्यकालदेखि अत्यन्त तिक्ष्ण दिमागकी उनी पढाईलाई पहिलो प्राथमिक्ता राख्ने गर्थिन् । ’उनी केटाकेटीदेखि नै पढ्न भनेपछि निकै रुची राख्थिन बाबु म्याम्बरले स्मरण गरे ’त्यै भएर प्रारम्भिक पढाईसकेसँगै बुढानिलकण्ठमा प्रवेश पाएपछि उनको भविष्यबारे हामी (बाउआमा)ले फर्केर हेर्नु परेन ।’
आफ्नी छोरी अहिले विश्व प्रसिद्ध फेसबुकको मुख्यालयमा पुगेर संसारभरको सेवा गर्ने मौका पाएकोमा आफुहरु अत्यन्त खुसी भएको आमा शान्ताले बताईन् । अमेरिकन सहयोग नियोग युएसएडमा कार्यरत आमा शान्ताले बाउ(आमालाई छोरीले प्रगति गरेकोमा मात्र गर्व नमानेर नेपालकै छोरी सावित हुन सफल भएकोमा बैअवुप्रति छाती चौडा भएको प्रतिक्रिया दिएका छन् ।
उदयपुरको एउटा कन्दरामा जन्मेर विश्व सेरोफेरो लिइरहेको फेसबुक मुख्यालयमा वरिष्ट कर्मचारीको भूमिकामा पुगेकी बैअवुप्रति समग्र देशले गर्व गरेको मामा रकम राईले बताए । सामाजिक सञ्जालमा उनलाई बधाईको ओईरो आईरहको छ ।
