Tuesday, April 21News That Matters

उदयपुरको ग्रामिण सडक पहिरोले अवरुद्ध

पूर्णपुष्टि, बैशाख १८ । उदयपुर जिल्लाको पहाडी क्षेत्रका मुख्य ग्रामीण सडकहरू शनिबारको भीषण वर्षा र त्यसपछिको बाढी तथा पहिराका कारण पूर्णरूपमा अवरुद्ध भएका छन् । चार पहाडी गाउँपालिकाका सडकहरूमा यातायात ठप्प भएको छ ।

रौता सल्लेका विष्णु पाठकका अनुसार सदरमुकाम गाईघाटबाट निस्कने मुख्य ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । यसमा रौता–सल्ले र रौता–भुटार सडक प्रमुख छन् । शनिबार बिहानको भीषण वर्षाका कारण यी क्षेत्रका सडकहरू भत्किएका र कतिपय स्थानमा पहिराले पुरिएका छन् ।

स्थानीय डिल्लीराम मगरका अनुसार पाँबु क्षेत्रका महत्वपूर्ण ग्रामीण सडकहरू पनि अवरुद्ध भएका छन् । रौता–नामन्त, रौता–आँपटार, नामेटार–ओख्रेनी र रामेटार–भदौरे सडकहरू यातायातका लागि बन्द भएका छन् ।

स्थानीय दिव्यराज मगरले बताएअनुसार रौता–मुर्कुची भएर डिल्लीबर हुँदै माझखर्क जाने मुख्य सडक विभिन्न स्थानमा भत्किएको छ । बाढीले बगाएका कारण यो सडक पूर्णरूपमा अवरुद्ध भएको छ । त्यसैगरी मुर्कुची–डिल्लीबर–माझखर्क भएर लिम्चुङबुङको बासबोटे बराह जाने ग्रामीण सडक पनि बन्द भएको छ ।

माझखर्कका जम्बु शेर्पाका अनुसार निरन्तरको वर्षाले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडकहरू भत्काएर खाल्डो परेको वा पहिराले पुरिएको कारण अहिले मोटरसाइकलसमेत सञ्चालन हुन नसकेको अवस्था छ । यसले स्थानीयवासीलाई दैनिक आवागमनमा गम्भीर समस्या भएको छ ।