Saturday, May 16News That Matters

उदयपुरको पहाडी क्षेत्रमा शैक्षिक संकट बढ्दो

पूर्णपुष्टि, पुष १० । उदयपुरको पहाडी क्षेत्रमा शैक्षिक संकट बढ्दै गएको छ । जिल्लामा ३३३ आधारभूत र ११५ माध्यमिक विद्यालय रहेका छन्, जसमध्ये ९ वटा मात्र अपाङ्गतामैत्री विद्यालय छन् । यस वर्ष ताप्ली गाउँपालिका र त्रियुगा नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेका छन् । स्थानीय पाठ्यक्रममा धार्मिकस्थल, कला, संस्कृति, कृषिलगायत आठ विषयवस्तु समावेश छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्कका अनुसार जिल्लाका पहाडी क्षेत्रका विद्यालयहरूमा स्वच्छ खानेपानी, बालमैत्री शौचालय, विज्ञान प्रयोगशाला र पुस्तकालय जस्ता आधारभूत सुविधाको अभाव देखिएको छ । विद्यार्थीहरू १–२ घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ । यसका कारण विद्यार्थी बीचैमा पढाई छाड्ने समस्या गम्भीर बन्दै गएको छ ।

रौतामाई, ताप्ली, लिम्चुङबुङ्ग, उदयपुरगढी गाउँपालिका र कटारी, बेलका तथा चौदण्डीगढी नगरपालिकाका पहाडी क्षेत्रका विद्यालयहरूमा विद्यार्थी संख्या न्यून छ । केही स्थानीय तहले दरबन्दी मिलान गरेर समाधान खोज्ने प्रयास गरेका छन् ।

गुणस्तरीय शिक्षका लागी बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ ले तयार गरेको खाका अनुसार विद्यालय र विद्यार्थीको घरबीचको दूरी आधा घण्टाको पैदल दूरीभित्र हुनुपर्ने उल्लेख छ । तर, विद्यार्थीको समस्या र सरकारले सहजरुपमा शिक्षा दिन भनेर ल्याएका कार्यक्रमबिच मेल खान सकेको छैन् । टाढाबाट आएका विद्यार्थी ढिला विद्यालय आउने, थकाइ लाग्ने छिटै भोकाउने तथा दिउँसो पछि छिटै विद्यालय छाड्ने जस्ता समस्या भएकाले पठनपाठनमा समस्या देखिएको छ ।

जिल्लाको रौतामाईको २, ४, ६, ८, त्रियुगा नगरपालिकाको १५, उदयपुरगढी गाउँपालिकाको १ र ताप्ली गाउँपालिकाको ३ र ५ नं. वडालाई बालमैत्री वडा घोषण गरिएको छ । तर बालमैत्री वडा घोषणा गरिए पनि सूचकहरूको कार्यान्वयन प्रभावकारी छैन । त्रियुगा नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेतापनि कार्यान्वयन गरेको देखिदैँन । नगरपालिकाले संस्थागत विद्यालयको वर्गीकरण गरी शुल्क निर्धारण गरेको छ ।