
पूर्णपुष्टि, पुष २९ । उदयपुरको बेलका नगरपालिका वडा नं. २ को विभिन्न स्थानहरुमामा जंगली हात्तीले एक हप्तामा ८ लाख भन्दा बढी मुल्य बराबरको भन्दा क्षती गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारमान दोङका अनुसार गत पुस २२ गते देखि २८ गतेसम्म जङ्गलबाट आएका जङ्गली हात्तीहरुले स्थानीयहरुको घर तथा भान्साघर भत्काई अन्नपात, बाली समेत नष्ट गर्दा अन्दाजी ८ लाख ६ हजार ५ सय रुपैँया बराबरको क्षति भएको छ ।
प्रहरीका अनुसार पुष २२ गते राती शान्तिनगर टोल बस्ने गेतु कुमार राईले संचालन गरेको जि.के. कृषी तथा पशुफर्म तथा खेतबारीमा लगाएको अन्न बाली नष्ट गर्दा अन्दाजी ५० हजार रुपैँया बराबारको क्षती भएको, गिद्धेरी टोल बस्ने जयरानी लिम्बुको कच्चीघर भत्काई अन्नपात, युरिया मल १ बोरा समेत खाँदा करिब ५० हजार रुपैँया बराबरको क्षती भएको छ ।
त्यस्तै संगिता तामाङको कच्चीघर भत्काउँदा अन्दाजी १० हजार रुपैँया बराबारको क्षती भएको र सुतिरहेको संगिताकी ७७ बषीया आमा फुलमाया तामाङलाई हात्तीले तानेर फाल्दा घाईते भएकी थिईन् । घाईतेलाई उपचारको लागि बेलका नगर अस्पताल रामपुरमा ल्याई सामान्य उपचार पश्चात सोही दिन डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोम बहादुर लिम्बुको कच्चीघर भत्काउँदा अन्दाजी १० हजार रुपैँया बराबरको क्षति भएको, सुस्मिता लिम्बुको ५ बोरा धान खाई घर नजिकै रहेको साग बारी र केराबारी समेत नष्ट गरी अन्दाजी १५ हजार रुपैँया बराबरको क्षति भएको ।
त्यस्तै पुष २४ गते रामनगर टोल बस्ने पदम राईको टाटीबेरा र फुसको छाना भएको १ तले घर भत्काउँदा घर भित्र रहेको अन्नपात समेत खाई अन्दाजी २५ हजार रुपैँया बराबरको क्षती भएको छ । त्यस्तै मनोज सदाको कच्ची घर भत्काई अन्नपात समेत खाँदा अन्जादी २५ हजार रुपैँया बराबरको क्षती भएको छ ।
त्यस्तै पुष २५ गते रातको समयमा सुन्दर टोल बस्ने देव नारायण चौधरीको कच्चीघर भत्काएर अन्नपात खाईदिदाँ अन्दाजी १ लाख रुपैँया बराबरको क्षति भएको छ भने ज्ञान बहादुर बस्नेतको बारीमा लगाएको बाली खाई अन्जादी ३ हजार रुपैँया बराबरको क्षति भएको छ । त्यस्तै मुना पराजुलीको बारीमा लगाएको बाली खाई अन्दाजी १ हजार ५ सय रुपैँया बराबरको क्षति भएको छ भने कुमार थापाको कच्ची गाई फर्म भत्काई कच्चीघर भित्र रहेको अन्नपात खादाँ अन्दाजी २ लाख बराबरको क्षति भएको छ । त्यस्तै सार्कीमान बि.क.को कच्ची घर भत्काउँदा अन्दाजी १२ हजार रुपैँया बराबरको क्षति भएको छ भने भुवन राईको बाँसको कच्ची भान्सा घर भत्काएर अन्नपात समेत खादाँ अन्दाजी १५ हजार बराबरको क्षति भएको छ ।
त्यस्तै पुष २६ गते रातको समयमा बानडाँडा स्थित सप्तकोशी सामुदायिक बन बहुसास्कृतिक साकेला पार्कमा घेरा बेरा गरेको तार जाली वार जंगली हात्तीले कुल्चिएर अन्दाजी १ लाख बराबरको क्षति भएको छ भने सोही स्थान बस्ने राजेश यादवको खेतमा लगाएको आलु खाएर नष्ट गर्दा अन्दाजी १ लाख ५० हजार रुपैँया बराबरको क्षती गरेको प्रहरीले जनाएको छ । गाउँ पसेका हात्तीहरुलाई स्थानीयबासीहरुको सहयोगमा जङ्गलतर्फ लखेटिएको प्रहरीले जनाएको छ ।
