
पूर्णपुष्टि, पुष २५
उदयपुरगढी गाउँपालिकाको नेपालटारमा तीन दिने व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । गाउँपालिकाको कृषि विकाश शाखाको आयोजनामा कृषकहरुलाई सीप दिएर स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित तालिम सम्पन्न भएको हो ।
जागरण पशुपंक्षी तथा कृषक समूहमा आवद्ध कृषकहरुलाई विभिन्न प्रजातिका तरकारी खेती सम्बन्धी तालिम दिईएको कृषी शाखा प्रमुख पारशमणी फुयलले बताउनुभयो ।

शाखा प्रमुख फुँयलका अनुसार बिहीबार सुरु भएको तालिममा कृषक समूहका कृषकहरु सहभागी छन । तालिममा प्रशिक्षक मोहनलाल फुँयलले कृषी तथा तरकारी खेतीको विभिन्न पक्षहरु, बाली क्यालेण्डर, विभिन्न रोग, किराले कृषकहरुलाई पार्ने समस्याको बारेमा प्रशिक्षण दिएका थिए । तालिमको संयोजक उदयपुरगढी गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख पारसमणी फुँयलले गर्नु भएको थियो भने, व्यवस्थापकको जिम्मा शेरबहादुर कार्कीले लिनुभएको थियो ।
पालिकाको कृषि विकाश शाखाको आयोजनामा जागरण पशुपंक्षी तथा कृषक समूहमा आवद्ध कृषकहरुको लागि १८ हप्ते कृषिक पाठशाला बिहीबार सम्पन्न भएको छ । पाठशालामा सहभागी भएका ३० जना कृषकलाई तरकारी बाली काउली खेतीसम्बन्धी अध्यापन गराइएको थियो ।
तालिमबाट सिकेका सीपले स्वरोजगार हुन मद्दत गर्ने र उदयपुरगढी गाउँपालिका तरकारी खेतीमा आत्म निर्भर हुने दिशामा अघि बढ्न सघाउ पुग्ने विश्वास लिईएको छ ।

