
पूर्णपुष्टि, असार २४ । उदयपुर जिल्लामा शनिबार राति परेको अविरल वर्षा र जंगली हात्तीको आक्रमणका कारण विभिन्न स्थानमा व्यापक क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार, उदयपुरगढी, चौदण्डीगढी, त्रियुगा र लिम्चुङबुङ गाउँपालिकाका विभिन्न वडाहरूमा घरहरू क्षतिग्रस्त भएका छन्।
उदयपुरगढी गाउँपालिका–३ सुकुलटारमा नर बहादुर पुलामी मगरको घर पहिरोले चर्किएर अनुमानित १ लाख रुपैयाँ बराबरको क्षति भएको छ। सोही स्थानकी ६९ वर्षीया राम माया पुलामी मगरको घरको दक्षिण पट्टिको गारो चर्किएको छ।
चौदण्डीगढी नगरपालिका–३ हात्तिसारमा धुर्ब थापा मगरको घर जंगली हात्तीले भत्काएर अनुमानित ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ। सोही वडाको भान्जी डाँडामा भोटुमान राईको २० कठ्ठा खेतमा लगाएको धान बाली पूर्ण रूपमा नष्ट भई अनुमानित ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
त्रियुगा नगरपालिका–१६ ढाडखर्कमा रमेश तामाङको घर भाँसिएर मानवीय तथा चौपाया क्षतिसहित अनुमानित १ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। लिम्चुङबुङ गाउँपालिका–१ मा अम्बर राईको घरको गारो भत्किएर अनुमानित १ लाख २५ हजार रुपैयाँ र माया सेर राईको घरको गारो भत्किएर अनुमानित ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय प्रशासनले प्रभावित परिवारहरूलाई तत्काल राहत र सहयोगको व्यवस्था मिलाउन थालेको जनाइएको छ। साथै, जंगली हात्तीको आक्रमणबाट बच्न सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ। यस घटनाले उदयपुर जिल्लामा प्राकृतिक प्रकोप र वन्यजन्तुको आक्रमणबाट हुने क्षतिको गम्भीरता उजागर गरेको छ।
