
पुजा राजधामी
उदयपुर, वैशाख ६ गते ।
आजबाट देशैभर साँतौ राष्ट्रि कृषि जनगणना सुरु भएसंगै उदयपुरमा पनि गणना आरम्भ भएको छ । जिल्लाको आठवटै पालिकामा १६ सुपरिपेक्षक र ६० जना गणकबाट कृषिगणना सुरु गरिएको हो ।
२०७९ वैशाख ६ गतेबाट सुरु भएको गणना जेठ १९ सम्म सञ्चालन हुने जिल्ला कृषीगणना अधिकृत शिवनारायन महतोले बताउनु भयो । उहाँका अनुसार प्रत्येक दश/दश वर्षमा हुने कृषिगणना स्थानीय तहहरुमा वैज्ञानिक विधिले छनौट गरिएका कृषक परिवारसंग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण संकलन गरिने छ ।
यस गणना अन्तर्गत पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा सञ्चालन भइरहेका कृषिकार्यको विवरणहरु संकलन गरिने छ । देशमा ३ लाख ५० हजार कृषक परिवारसँग अन्तवार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ ।
देशभरका ७७ जिल्लाका ७ सय ५३ पालिकामा कृषि गणनाका लागि १ हजार ३ सय सुपरीवेक्षक र ५ हजार २ सय गणक खटाइएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभएको छ । यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । विभागले प्रत्येक दश/दश वर्षमा कृषि गणना सुरु गर्दै आएको छ ।
सातौँ कृषि गणनामा गणकले सङ्कटमा रैथाने पशुपक्षीको तथ्याङ्क, सम्पूर्ण बाली, माछा, पशुपक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गर्नेछन् । राष्ट्रिय जनगणना सुरु भएको छ महिनापछि हुन लागेको यस कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिन विभागले जनाएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कमा नेपालमा हाल झण्डै ६६ प्रतिशत किसान रहेका र कूल गार्हस्थ उत्पादनमा कृषि तथा पशुपक्षी क्षेत्रको योगदान २७ प्रतिशत रहेको उल्लेख छ । राज्यले कृषिप्रधान मुलुक भने पनि भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको आठ महिना फागुन मसान्तसम्म कूल आयातको करिब एक तिहाइ अंश प्रत्यक्ष कृषिजन्य उत्पादनको छ ।
